चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ ले टोल बिकास समितिहरुलाई अधिकार सम्पन्न बनाउने ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ ले वडामा रहेका टोल बिकास समितिहरुलाई अधिकार सम्पन्न बनाउन लागेको छ । वडा कार्यालयले सिफारिस गर्ने ब्यक्तिगत घटना दर्ता, नागरिकताको सिफारिस लगायतका कार्यमा टोल बिकास समितिको सिफारिसलाई अनिवार्य बनाउन लागेको छ । वडा अध्यक्ष हरि बहादुर खड्काका अनुसार वडाले यसअघि सिधै वडाबासीको आग्रहमा गरिरहेको सिफारिसहरु अबदेखी सम्बन्धित टोल बिकास समितिले सिफारिस गरेपछि मात्र गरिने जनाएका छन् । वडा अध्यक्ष खड्काले टोल बिकास समितिहरुलाई पनि जिम्मेवार बनाउनुका साथै अधिकार सम्पन्न बनाउन यस्तो निर्णय गरिएको बताएका छन् । उनले सबै वडाबासीहरुसंग दोहोरो परिचय हुन नसकिने र नागरिकता, जन्म, मृत्यु , विवाह लगायतका घटनाहरुको सिफारिसमा परिचय खुल्न आबश्यक हुने भएकोले टोल बिकास समितिको सिफारिसलाई अनिवार्य गर्दा गलत पर्ने सम्भावना कम हुने बताए । टोल बिकास समितिहरुलाई क्रियाशिल बनाई वडा कार्यालयको सहयोगीको रुपमा भुमिका खेलाउन वडाले उनीहरुलाई अधिकार सम्पन्न बनाउन खोजेको वडा अध्यक्ष खड्काको भनाई छ । यसै प्रयोजनको लागि वडा कार्यालयले आज झोडापाटास्थित वडा कार्यालयमा वडामा रहेको १२ वटै टोल बिकास समितिका पदाधिकारीहरुलाई बोलाएर रजिष्टर,लेटरप्याड, डटपेन, पासवुक लगायतका स्टेशनरी सामाग्री प्रदान गरेको छ । वडा अध्यक्ष हरि बहादुर खड्का, वडा सदस्य तथा कार्यपालिका सदस्य सुस्मा राई लगायतका जनप्रतिनीधिहरुले सामाग्री हस्तान्तरण गरेका थिए ।

सरकारले जन्म, बिबाह, बसाई सराई, सम्बन्ध बिच्छेद, मृत्यु जस्ता व्यक्तिगत घटना दर्ताको लागि टोलबासीलाई उत्साहित र सहजीकरण गर्न , टोलमा बसोबास गर्ने अशक्त, अपाङ्गता भएका व्यक्ती तथा बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क संकलन कार्यमा सहयोग गर्न, टोलमा संचालन हुने विकास निमार्णका योजनाहरुको तर्जुमा, कार्यवन्यन, सुपरिबेक्षण तथा अनगुमनमा सहयोग गर्ने लगायतका २७ प्रकारका कार्यहरुको लागि तथा स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नैै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यलयको सहयोगीको रुपमा काम गर्नेगरी टोल विकास संस्थाको गठन हुने जनाएको छ ।