चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय परिचय पत्र फारम भर्न नगरबासीमा उत्साह ।

८ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय परिचय पत्र फारम भर्न नगरबासीमा उत्साह देखिएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लगायत सरकारले प्रदान गर्ने सेवासुविधाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भनिएपछि सदरमुकाम गाईघाटमा गएर फारम भर्नुपर्ने बाध्यता रहेकोमा नगरपालिकाको पहलमा बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा राष्ट्रिय परिचय पत्र फारम भर्न मिल्ने भएपछि नगरबासीमा उत्साह देखिएको हो । सदरमुकाम गाईघाट गएर राष्ट्रिय परिचय पत्र फारम भर्न अपायक भएको तथा बृद्धबृद्धा तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई कठिनाई हुने भएपछि नगरपालिकाले पहल गरेर बेल्टार मै अनलाईन मार्फत राष्ट्रिय परिचय पत्र दर्ता कार्यक्रम संचालन भएको छ । झण्डै दैनिक ८० जनाले बायोम्याट्रिकसहितको सबै प्रक्रिया पुरा गरेर अनलाईन मार्फत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिरहेको नगरपालिकाको आईटी शाखा प्रमुख रोशन खतिवडाले जानकारी दिएका छन् । हालसम्म ३७४ जनाले अनलाईन मार्फत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिसकेका छन् भने झण्डै ८ सयको हाराहारीमा यसअघि नगरमा आएको टोलीको समयमा फारम भरेकाहरुले राष्ट्रिय परिचय पत्र नम्बर लिएका छन् ।

गत श्रावण १ गते देखी शुरु भएको अनलाईन मार्फत राष्ट्रिय परिचय पत्र दर्ता कार्यक्रममा सेवाग्राहीको चाप भएपछि नगरपालिकाले नगरको १० वटै वडालाई समेटेर नयाँ तालिका सार्वजनिक गरेको छ । यसअघि वडा नम्बर ६, ७ र ४ का वडाबासीका लागि मात्र तालिका प्रकाशित गरि दर्ता कार्यक्रम संचालन गरेको थियो । नगरपालिकामा आगामी भदौ ५ गतेसम्म अनलाईन मार्फत राष्ट्रिय परिचय पत्र दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय उदयपुरबाट आएको टोलीले राष्ट्रिय परिचय पत्रका लागि नगरबासीको बायोम्याट्रिकसहितको सबै प्रक्रिया पुरा गरेर दर्ता गरेको भएतापनि उनीहरुले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर पाउन सकेका थिएनन् भने राष्ट्रिय परिचय पत्र कार्ड पनि प्राप्त गरेका छैनन् । राष्ट्रिय परिचय पत्र दर्ताका लागि वडा नम्बर ४ का बासिन्दाका लागि साउन ६ र ७ गते, वडा नम्बर ७ का बासिन्दाका लागि साउन ८ र ९ गते, यस्तै वडा नम्बर ६ का बासिन्दाका लागि साउन १० र ११ गते, वडा नम्बर १ का बासिन्दाका लागि साउन १३ , १४ र १५ गते ,त्यस्तै वडा नम्बर ८ का बासिन्दाका लागि साउन १६, १७ र १८ गतेको मिति निर्धारण गरिएको छ । यस्तै वडा नम्बर ५ का बासिन्दाका लागि साउन २०, २१ र २२ गते, वडा नम्बर ९ का बासिन्दाका लागि साउन २३, २४र २५ गते, वडा नम्बर १० का बासिन्दाका लागि साउन २७,२८ र २९ गते, त्यस्तै वडा नम्बर २ का बासिन्दालाई साउन ३०, ३१ र ३२ गतेको मिति निर्धारण गरिएको छ भने वडा नम्बर ३ का बासिन्दाका लागि भदौ २,४ र ५ गतेको मिति निर्धारण गरिएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि आबश्यक कागजातहरुको रुपमा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य , नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेका भए सो खुलेको प्रमाणपत्र, बसाईसराई गरेको भए सोको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाहदर्ताको सक्कल वा नाता खुल्ने प्रमाणपत्र, त्यस्तै राहदानी लिएको भए सक्कल राहदानी लिएर आउनुपर्ने जनाइएको छ । दर्ता प्रक्रिया बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा बिहान १० बजेदेखी अपराहन्ह ५ बजेसम्म संचालन भैरहेको प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले जानकारी दिएका छन् । हाललाई सामाजिक सुरक्षा भत्ता लिनलाई राष्ट्रिय परिचय पत्र आबश्यक नभए पनि भबिस्यमा सरकारी सेवा सुबिधा प्राप्त गर्नलाई राष्ट्रिय परिचयपत्र आबस्यक पर्ने भएकोले अहिले नै बनाई राख्न पनि प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले आग्रह गरेका छन् । यस्तै आफ्नो घर परिवार वा छिमेकीमा कसैको परिचयपत्र बनाउन छुटेको भए उनिहरुलाई जानकारी गराई दिनुहुन पनि उनले अनुरोध गरेका छन् ।