६ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

४२ औं विपी स्मृती दिवसको उदयपुरको चौदण्डीगढी नगरपालिकामा विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिको आयोजनामा बेल्टार बजारस्थित क्षेत्रिय पार्टी कार्यालयमा भएको कार्यक्रममा सहभागीहरुले समाज रुपान्तरणमा विपी कोईरालाको योगदानको चर्चा गर्दै विपीको विचारलाई ब्यबहारमा उतार्नुपर्ने बताएका थिए ।
कांग्रेस क्षेत्रिय सभापति खगेन्द्र राईले विपीको विचार नै कांग्रेसको सिद्धान्त भएकोले विपीको विचारलाई ब्यबहारमा लागु गरेर समाज रुपान्तरणमा लाग्नुपर्ने बताएका थिए । विपी कोईराला यथार्थवादी भएकोले उनको विचारलाई जीवनमा लागुपर्ने उनको भनाई थियो । विपीको अनुयायी भएर कांग्रेस कार्यकर्ताहरु एक ढिक्का भएर काम गर्नुपर्ने उनले बताएका थिए । यस्तै क्षेत्रिय सभापति राईले विपी कोईरालाको राजनीतिमा मात्र नभएर साहित्य क्षेत्रमा पनि ठुलो योगदान रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा विपी कोईरालाको मेलमिलापको नीति आदी बारेमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा कांग्रेस नेताहरु जनक कार्की, रमेश विश्वकर्मा लगायतले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रम कांग्रेस चौदण्डीगढीका नगर सभापति राजेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो भने विचार गोष्ठी समापन लगतै नेता कार्यकताहरुले वडा नम्बर ६ सातधारेस्थित ज्योती जनता बहुमुखी क्याम्पसको प्रारंगमा आँपको बिरुवा रोपेका थिए ।


