चौदण्डीगढीमा बिभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा नेता तथा कार्यकताहरु एमालेमा प्रबेश ।

५ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा नेता तथा कार्यकताहरु एमालेमा प्रबेश गरेको छ । नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले आज वडा नम्बर ४ को बर्खेडाँडामा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा जनता समाजवादी पार्टी जसपा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लगायतका पार्टीबाट ठुलो संख्यामा नेता तथा कार्यकताहरु एमालेमा प्रबेश गरेको हो । एमाले चौदण्डीगढी नगर कमिटीका अध्यक्ष विकास बन्जराले उपलब्ध गराएको तथ्याङ्ग अनुसार जसपाबाट ७७ जना, माओवादीबाट ४७ जना, नेपाली कांग्रेसबाट १८ जना त्यस्तै रास्वपाबाट १७ जना र एकिकृत समाजवादी पार्टीबाट ३ जनागरी १६२ जना नेता तथा कार्यकताहरु एमालेमा प्रबेश गरेका छन् ।

पार्टी प्रबेश गरेकाहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत बहादुर कार्की, पोलिट ब्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य तथा उदयपुरका आठ वटै पालिकाका ईन्चार्ज अम्बिका थापा, कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ्ग, उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, जिल्ला उपाध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा लगायतले स्वागत गरेका थिए । आज एमाले पार्टी प्रबेश गर्नेमा जसपा चौदण्डीगढी नगर अध्यक्ष भुपेन्द्र राई, जसपा सैनिक तथा प्रहरी संगठन केन्द्रीय सदस्य जनक बहादुर विष्ट , रास्वपा नगर समिति कोषाध्यक्ष गणेश बहादुर परियार, नेकपा माओवादी केन्द्र वडा नम्बर २ का पुर्व अध्यक्ष तिलक राई, बादल सिंह लगायत रहेका छन् । पार्टी प्रबेश गराउदै एमाले नेताहरुले पार्टी प्रबेशले एमालेको मिशन ८४ लाई सहयोग पुग्ने बताउदै पार्टी मजबुत बनाउन भुमिका खेल्ने बताएका थिए । एमाले प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ्गले जनप्रतिनीधिको कामको मुल्याङ्गकन गरेर पार्टीप्रति आकर्षण बढेको बताउदै स्थानीय जनप्रतिनीधिहरुले राम्रो काम गर्दा त्यसको सकरात्मक प्रभाव पर्ने जनाएका थिए । स्थानीय सरकारले गरेको जनअपेक्षित कार्यले एमाले प्रबेश गर्ने लहर चलेको उनको भनाई थियो ।

यस्तै एमाले उदयपुर उपाध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले मिशन ८४ को शुरुवात गर्दै एकल बहुमतको संघीय, प्रदेश र जिल्लाको आठ बटै पालिकामा एमालेलाई विजयी बनाउनुपर्ने बताएका थिए । एता जसपा छोडेर एमालेमा प्रबेश गरेका जसपा नगर अध्यक्ष भुपेन्द्र राईले नेतृत्वका कारण आफुहरु अल्मलिएको बताउदै एमाले भरोसा र बिश्वासयोग्य पार्टी भएकाले एमालेमा प्रबेश गरेको बताएका थिए ।