गर्मी बढेसँगै चौदण्डीगढीमा डेंङ्गी रोगको संक्रमण फैलिदै / ८ जनामा संक्रमण पुष्टी ।

 

११ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

गर्मी बढेसँगै उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि डेंङ्गी रोगको संक्रमण फैलिरहेको छ । नगरको मुख्य ब्यापारिक केन्द्र बेल्टार बजारमा संचालित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पताल बेल्टार, हिरा पोलिक्लिनिक , संजीव मेडिकल हल र चौदण्डीगढी हस्पिटलबाट प्राप्त तथ्याङ्ग अनुसार नगरमा हालसम्ममा ८ जनामा डेंङ्गी रोगको संक्रमण फेला परेको छ । नगर अस्पताल बेल्टारमा २५ जनाको डेंङ्गी रोगको परिक्षण गरेकोमा १ जनामा संक्रमण देखा परेको छ भने हिरा पोलिक्लिनिकमा ४ जनामा र संजीव मेडिकल हलमा परिक्षण गराएका मध्ये ३ जनामा डेंङ्गी रोगको संक्रमण फेला परेको छ । संक्रमितहरु सिद्धिपुर , सिमलटार र वसहा क्षेत्रका रहेका छन् । संक्रमितहरु अधिकांश उपचारपछि निको भएको हिरा पोलिक्लिनिककी संचालक हिरा चौधरीले जानकारी दिएकी छिन् ।

संक्रमित एडिस एजिप्टाई लामखुट्टेले टोकेमा डेंङ्गीको संक्रमण हुनसक्छ भने डेंङ्गीको संक्रमण भएमा उच्च ज्वरो आउने , जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने , आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्नु वा वान्ता हुनु आदी लक्षण देखिने नगर अस्पताल बेल्टारका प्रमुख डा. अमृत कर्णले बताएका छन् । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकसंग सम्पर्क गर्नुपर्ने र चिकित्सकको सल्लाहबिना कुनैपनि औषधि सेवन गर्न नहुने डा. कर्णले बताएका छन् । यस्तै लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, यो लामखुट्टे मानिसको वस्ती वरीपरि प्राकृतिक वा कृतिम रुपमा जमेको पानीमा फुल पारेर वृद्धि विकास हुने भएकाले यसको लार्भा नष्ट गर्नुपर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने , पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने आदी गर्नुपर्ने डा. कर्णको भनाई छ ।