अव्यवस्थित रूपमा फोहोर नफाल्न बिभिन टोल बिकास समितिहरुद्वारा वडा कार्यालयको ध्यानाकर्षण ।

अव्यवस्थित रूपमा फालिदै आएको फोहोरलाई बैज्ञानिक ढङ्गबाट दीर्घकालीनरुपमा ब्यबस्थापन गर्नुपर्ने माग गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का टोल बिकास समितिहरुले वडा कार्यालयको ध्यानाकर्षण गरेको छ । आज एक ज्ञापनपत्र बुझाउदै समाबेशी, जनजागृती, पारिजात, वगरकोट, पुलचौक , औतारीथान र ज्योती नमुना टोल बिकास समितिका पदाधिकारीहरुले वडा अध्यक्ष अम्बर बहादुर खड्कालाई सिवार्नीस्थित वडा कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले बेल्टार बजार क्षेत्रबाट निस्किने फोहर बजारनजिकैको आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको जंगलनजिक फ्याक्नाले तथा जलाउनाले उक्त फोहरबाट निस्किएको दुर्गन्ध र धुवाँले बजार क्षेत्रका टोलहरु वगरकोट, पुलचौक, ओमशान्ति लाईन, मदन चौक , कल्याण चौक लगायत बजार क्षेत्रका बासिन्दामा गम्भिर असर परिरहेको बताउदै बिषेशगरी ज्येष्ट नागरिक, वालवालिका, गर्वभती महिला, मुटुरोगी लगायतका दिर्धरोगीहरुमा असर गरिरहेको जनाएका छन् । यस्तै फोहरबाट निस्किने धुवाँले वायु प्रर्दुषण, जल तथा माटो प्रर्दुषण भैरहेको , पशुचौपायाले खुल्लारुपमा फालिएको फोहर खानाले रोग लागी मर्ने समेत गरेकोले फोहोरलाई बैज्ञानिक ढङ्गबाट दीर्घकालीनरुपमा ब्यबस्थापन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले १५ दिनभित्र माग पुरा नभए त्यस क्षेत्रमा फोहर फाल्न रोक लगाउने चेतावनी पनि दिएका छन् ।

उनीहरुले यस्तै खालको ज्ञापन पत्र आज नै आँपखहरे सामुदायिक वन उपभोक्ता समितिलाई पनि बुझाएका छन् । ज्ञापन पत्र बुझाउनेमा समाबेशी टोल बिकास समितिका अध्यक्ष बिदुर राई, जनजागृती टोल बिकास समितिका अध्यक्ष शंकर थापा, पारिजात टोल बिकास समितिका अध्यक्ष लिलबहादुर थापा मगर, वगरकोट टोल बिकास समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, पुलचौक टोल बिकास समितिका अध्यक्ष गोपाल मगर, औतारीथान टोल बिकास समितिका अध्यक्ष शिव ढकाल र ज्योती नमुना टोल बिकास समितिका अध्यक्ष अधिराज राईसहितका पदाधिकारीहरु रहेका थिए । चौदण्डीगढी नगरपालिकाले बेल्टार बजारबाट निस्किने सबै प्रकारको फोहर वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितीको बजारनजिकैको जंगलमा फाल्ने गरेको छ । यसअघि बेल्टार बजारको वडा नम्बर ७ बाट निस्किने फोहर बजारनजिकैको द्वारखोलाका फाल्ने गरिएको भएता पनि स्थानीयले बिरोध गरेपछि त्यस क्षेत्रमा फोहर फाल्न बन्द गरिएको छ भने बजारको सबै फोहर वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितीको बजारनजिकैको जंगलमा फाल्ने गरिएको छ । यद्यपी नगरपालिकाले लाखौको बजेटले निमार्ण गरेको वडा नम्बर ९ स्थित ज्यामिरेका रहेको डम्पिङ्ग साईट भने त्यहाँका बासिन्दाको बिरोधका कारण प्रयोगबिहिन छ ।