१९आसार २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९पश्चिम ज्यामिरेमा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । आज नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकोबीच चिस्यान केन्द्रको उद्घाटन गरेका छन् । नगरपालिकाका लेखा प्रमुख अम्मर थापाका अनुसार वडा नम्बर ९ पश्चिम ज्यामिरेमा संघीय सरकार द्वारा विनियोजित २५ लाख ४८ हजार ६ सय २ रुपैयाँको लागतमा ४ टन क्षमताको चिस्यान केन्द्र निमार्ण भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले कृषकहरुलाई अब तरकारी लगायतका कृषी उपज उत्पादन चिस्यान केन्द्रमा राख्ने र अफ सिजनमा बजारमा लगेर बेचबिखन गर्दा राम्रो आम्दानी लिन सकिने जनाउदै अब पश्चिम ज्यामिरे लगायतका क्षेत्रका कृषकले कृषिमा आत्मनिर्भर हुने गरि काम गर्नुपर्ने बताएका छन् । यस्तै चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले चिस्यान केन्द्र सबैलाई पायक पर्ने सुगम स्थानमा रहेकोले आफ्नो उत्पादन यहाँ ल्याएर राख्न् सजिलो हुने बताउदै त्यसबाट फाईदा लिनुपर्ने बताएका थिए भने वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले चिस्यान केन्द्र निमार्णका लागि आफुले धेरै पहल गरेको तथा निमार्ण ब्यबसायीलाई केन्द्र निमार्णमा सबै प्रकारले सहयोग गरेको बताए । अध्यक्ष राउतले नगरमै पहिलो पटक पश्चिम ज्यामिरेमा कृषि बजारका लागि दर्ता प्रक्रिया देखी सबैखाले काम सम्पन्न गराएको बताउदै पश्चिम ज्यामिरेलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने सोच अनुसार चिस्यान केन्द्रको निर्माण समेत यहीं गरिएको धारणा राखेका थिए । पश्चिम ज्यामिरेमा चिस्यान केन्द्र निमार्ण पश्चात ज्यामिरे, हडिया, सातधारे, सिर्वानी, बेल्टार लगायतका कृषकहरुलाई सुबिधा हुने भएको छ भने नजिकै बेल्टार बजार रहेकोले अफ सिजनमा कृषकले चिस्यान केन्द्रमा राखेको कृषी उपज बेचबिखन गरेर राम्रो आम्दानी लिन सकने देखिन्छ ।