नगरपालिकाले सिको गर्नुपर्ने वडाको काम ।

उदयपुरमा वडा कार्यालयले गरेको कार्यलाई नगरपालिकाले सिको गर्नुपर्ने देखिएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले शिक्षाको क्षेत्रमा गरेको एउटा रचनात्मक कार्यलाई नगरपालिकाले नै अगाडी बढाउनुपर्ने देखिएको हो । वडा कार्यालयको वडा शिक्षा समितिले सानो रकमबाट विगत ३ बर्षदेखी सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर स्त्तरीय “” हिसावको हिरो “” र “”शब्द सम्राट”” प्रतियोगिता तथा वडा स्त्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । जस्ले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको शैक्षिक सुधारमा सकरात्मक भुमिका खेलेको वडा अध्यक्ष भगनाथ मगरले दावी गरेका छन् । मगरका अनुसार प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
जनता माध्यमिक बिद्यालय लुङ्गिन्टारका प्रधानाध्यापक तथा प्रतियोगिताका परिकल्पनाकार मध्येका एक पदम गोले तामाङ्गका अनुसार सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि गणित विषयमा आधारित हिसाबको हिरो तथा अंग्रेजी र नेपाली ब्याकरणमा आधारित शब्द सम्राट प्रतियोगिता संचालन गरिएको हो । हिसाबको हिरो प्रतियोगितामा एसईई परीक्षालाई सहयोग पुग्नेगरी ५० पुर्णाकको गणित बिषयको प्रश्नहरु समाबेश गरेर सहभागी बिद्यार्थीहरुलाई प्रश्न सोधिन्छ भने शब्द सम्राट प्रतियोगतामा एसईई परीक्षालाई मध्यनजर गर्दै नेपाली र अंग्रेजी ब्याकरणका प्रश्नहरु समाधान गर्न लगाईन्छ । यस प्रतियोगताले बिद्यार्थीहरुको गणित बिषय र नेपाली तथा अंग्रेजी विषयमा सुधार भई परीक्षामा राम्रो नतिजा ल्याउन सहयोग पुग्ने गरेको जिकिर प्रधानाध्यापक तामाङ्गको पनि रहेको छ ।


चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ लुङ्गिन्टारस्थित जनता माध्यमिक बिद्यालयमा आज सोमबार आयोजित प्रतियोगितामा नगर प्रमुख कालुमान लामाले समेत प्रतियोगिताबाट प्रभावित भएर आगामी बर्षदेखी नगर स्त्तरीय प्रतियोगिता संचालन गर्न नगर शिक्षा शाखाका प्रमुख सुरज कार्कीलाई निर्देशन समेत दिइका छन् ।
वडा शिक्षा समितिले आज आयोजना गरेको हिसाबको हिरो प्रतियोगिताको विजेता जनता मावि हडियाका अशिम खड्का बन्न सफल भएका छन् । उनले ५० पुर्णाकमा ४९ अंक ल्याउन सफल भएका छन् । त्यस्तै ज्योति मावी बेल्टारका चिरञ्जीवी राई ४० अंकसहित दोश्रो, नारद आदर्श मावि बसाहाका तृष्णा खड्का ३८ अंकसहित तेश्रो र कालिका मावि सिर्वानीका स्वस्तिका राउत ७० अंकसहित चौथो भएकी छिन् । एता शब्द सम्राट प्रतियोगितामा भने ५० पुर्णाकमा मावि सिवाईका खेमराज खत्री २८ अंकसहित प्रथम, जनता मावि हणिकी अविशा निरौला २७.५ अंकसहित दोश्रो, नारद आदर्श मावि बसाहाकी सफला खनाल २७ अंकसहित तेश्रो र लौवागढी मावि खैराझोडाकी निरु चौधरी २४ अंकसहित चौथो भएको जनता मावि लुङ्गिन्टारका प्रधानाध्यापक पदम गोले तामाङ्गले जानकारी दिएका छन् । वडा स्त्तरीय हाजरी जवाफ प्रतियोगितामा सरस्वती मावी साँवा प्रथम, जनता मावि लुङ्गिन्टार दोश्रो, गौरीकन्या आधारभुत बिद्यालय तेश्रो भएको छ । विजेताहरुलाई नगर प्रमुख कालुमान लामा, नगर शिक्षा शाखा प्रमुख सुरज कार्की लगायतले नगदसहित प्रमाण पत्र र मेडलले सम्मानित गरेका थिए ।
वडा शिक्षा समितिले २०८० सालदेखी नियमितरुपमा यस प्रतियोगिताको आयोजना  गरिरहेको छ ।