२० आसार २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा संचालित एक महिने ब्याग डिजाइन तथा निर्माण तालिमको सम्पन्न भएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको साझेदारी तथा चौदण्डीगढी नगरपालिकाको आयोजनामा भएको तालिमको आज सिर्वानीस्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, वडा अध्यक्ष अम्बर बहादुर खड्का, सामाजिक विकास शाखा प्रमुख सत्यनारायण हुजदार, लेखा प्रमुख अम्मर थापा लगायतको उपस्थितीमा समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर उपप्रमुख मणिकादेवी दुलालले आफु पहिला देखिनै महिलाका क्षेत्रमा काम गर्दै आएको बताउदै तालिमले एकल महिलालाई स्वरोजगार बन्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छिन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले तालिमबाट प्राप्त सिप र ज्ञानलाई प्रयोगमा ल्याएर स्वरोजगार बन्न आग्रह गरेका थिए । श्रेष्ठले तालिम लिने महिलाहरुको माग अनुसार थप तालिमका लागी नगरले आवस्यक समन्वय गर्ने समेत बताएका थिए । यस्तै समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष अम्बर बहादुर खड्काले एकल महिलाका लागि उद्यमशिलता सीप विकास तालिम अन्तर्गत एक महिने ब्याग डिजाइन तथा निर्माण तालिम सम्पन्न गरिएको जानकारी दिदै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकोे १ लाख ७९ हजार ५ सय रुपैयाँले तालिम संचालन गरिएको बताएका थिए । अध्यक्ष खड्काले तालिममा सहभागीहरुलाई ब्यबसायिक बनाउन कोशी प्रदेश सरकारको ५ लाख, चौदण्डीगढी नगरपालिकाको २ लाख ५० हजार र सहभागीहरुको २ लाख ५० हजार रुपैयाँगरी कुल १० लाख रुपैयाँको बिउ पुँजी बनाएर कार्य गर्ने बताउदै एकल महिलाले उत्पादन गर्ने ब्यागको बजार ब्यवस्थापनको चिन्ता नगर्न आग्रह गरेका थिए ।
यसअघि घरेलु तथा साना उद्योग कार्यालय गाईघाटका प्रमुख नरेन्द्र पराजुलीले एक महिनाको तालिकले आधरभुत ज्ञान प्राप्त गरेका तालिमका सहभागीहरुका लागि एडभान्स कोर्षको तालिम पनि संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । तालिममा वडाका २५ जना एकल महिलाको सहभागिता रहेको थियो भने तालिम सामुदायिक विकास तथा परिवर्तन केन्द्र गाईघाटको आयोजनामा संचालन भएको थियो ।