थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढीमा ४ दिने अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका, कोशी प्रदेश सरकार र करूणा फाउण्डेसन नेपालको त्रीपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा आवश्यकता पहिचानका लागि नगरको वडा नम्बर १,४,८ र ९ मा संचालन भएको शिविरमा २१ जना महिला र २४ जना पुरुषगरी ४५ जनाले अपांङ्गता परिचय–पत्र पाप्त गरेको नगर सामाजिक शाखा प्रमुख नवराज वरालले जानकारी दिएका छन् । परिचय पत्र प्राप्त गर्नेहरुमा १० जना वालवालिका पनि रहेका छन् । उनीहरुमध्ये ३ जनाले रातो, १४ जनाले निलो, ७ जनाले पहेलो र २१ जनाले सेतो कार्ड प्राप्त गरेको सामाजिक शाखा प्रमुख वरालले बताएका छन ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा आवश्यकता पहिचान गर्न नगरपालिकाले पुष ११ गते वडा नम्बर १ को स्वास्थ्य चौकी चौदण्डी, पुष १२ गते वडा नम्बर ८ को स्वास्थ्य चौकी सिद्धिपुर, पुष १३ गते वडा नम्बर ४ को स्वास्थ्य चौकी बर्खेडाँडा, बसाहा र पुष १४ गते वडा नम्बर ९ को स्वास्थ्य चौकी हडियामा शिविर संचालन भएको थियो । अपांङ्गता परिचय–पत्र पाप्त गर्नेहरुमा वडा नम्बर १ का १० जना, २ नम्वर वडाका २ जना, ३ नम्वर वडाका २ जना, ४ नम्वर वडाका ५ जना, ५ नम्वर वडाका २ जना, ७ नम्वर वडाका २ जना, ८ नम्वर वडाका १० जना, ९ नम्वर वडाका ८ जना र १० नम्वर वडाका ४ जना रहेका छन् । यसैगरी शिविरबाट ५५ जनाको पुरानो कार्ड खिचि नयाँ बितरण गरिएको छ भने ३ जनाको अवस्थाअनुसार अपांङ्गता परिचय–पत्र परिवर्तन गरी वितरण गरिएको छ । शिविरमा २ सय ५३ जनाले स्वास्थ्य उपचार प्राप्त गर्नुका साथै उनीहरुको आवश्यकता अनुसारको सहायता सामाग्री र थप उपचारको पहिचान गरिएको मेडिकल अफिसर डा. अजय खड्काले बताएका छन् ।
नगरपालिकाले वडा नम्बर ६ र ७ बाहेक नगरको अन्य ८ वटा वडाहरुलाई समेटेर शिविर संचालन गरेको हो । वडा नम्बर ६ र ७ का अपाङ्गता भएका वडाबासीहरुले भने नगरपालिकामै आएर परिचय पत्र लिने गरेको बताइएको छ ।
शिविरमा मेडिकल अफिसर डा. खड्का, फिजियोथेरापिष्ट प्रियंका तामाङ्ग, वरिष्ट नेत्र सहायक दिपक कुमार सिंह कुसवाहा, वरिष्ट कान सहायक सञ्जय कुमार कर्ण, चौदण्डी अपांगता सेवा संस्थाका पदाधिकारी लगायत नगरपालिकाको कर्मचारीहरुको संयुक्त टोली खटिएको थियो ।
पछिल्लो समयमा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोग, करुणा फाउण्डेशनसंगको सहकार्यमा अपाङ्गता भएका ब्यक्तिहरुको आबश्यक्ता पहिचानगरी सहयोग सामाग्री प्रदान गर्नुका साथै परामर्श सेवा प्रदान गर्दै आईरहेको छ ।
