चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ मा सभाहलसहितको वडा कार्यालय भवनको उद्घाटन ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ मा सभाहलसहितको वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । ज्यामिरेस्थित नवनिर्मित सभाहलसहितको भवनको नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमका बिच आज शुक्रबार उद्घाटन गर्नुभएको हो । बि.स. २०७६ सालमै पहिलो तल्लाको निर्माण सम्पन्न भै प्रशासनिक कार्य संचालन भैरहेको भएता पनि चालू आर्थिक बर्षमा १२ लाख रुपैयाँको लागतमा दोश्रो तल्लामा सभाहलसहितको संरचना निर्माण गरिएको वडा अध्यक्ष प्रकाश राउत जानकारी दिनुभएको छ । वडा कार्यालयबाट प्रशासनिक कार्य भैरहेपनी वडा कार्यालय भवनको उद्घाटन भने विविध कारणले नभएको वडा अध्यक्ष राउतले स्पष्ट पार्नु भएको छ ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आफू नेतृत्वको सरकारले नगरबासीको शिर उच्च राख्नेगरी काम गरेको दाबी गर्नुभएको थियो । उनले नगरपालिकाले नगरबासीको सम्पतिको संरक्षण गर्ने बताउने सुकुम्बासीको घर भत्काउन नदिने बताउनु भयो । नगरपालिकाले सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले भोगचास गरिरहेको जग्गाको नापजाँच गरेर भोगाधिकार पुर्जा प्रदान गर्ने जानकारी दिनुभयो ।

यस्तै नगर प्रमुख लामाले वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत स्वभावले कडा भए पनि उनको कार्यकालमा वडा नम्बर ९ मा बिकास निर्माणले तिब्रता पाएको भन्दै प्रसंशा गर्नुभएको थियो । वडा नम्बर ९ मा शिक्षा, स्वास्थ्य , सडक पुर्वाधार , कृषि , सिचाईमा उल्लेखनीय काम भएको बताउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राउतले आफुले राजनीतिक आस्थाको कारण कसैसंग भेदभाव नगरेको दाबी गर्नुभएको थियो । सेवाग्राहीको काम जुनसुकै समयमा पनि गर्ने गरेको दावी गर्नुहुदै वहाँले सेवाग्राहीको सुबिधाको लागि वडा कार्यालयमै फोटोकपीको ब्यबस्था गरेको, वडा कार्यालय मै निबेदन लगायतको लिखत लेखिदिने गरेको र वडा कार्यालयलाई बिचौलिया मुक्त वडा बनाएको बताउनु भएको थियो । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष धर्मेन्द्र खड्का, ६ का वडा अध्यक्ष अम्बर बहादुर राउत, ३ का वडा अध्यक्ष पर्शुराम राई लगायत शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि र स्थानीय वडाबासीको बाक्लो उपस्थिति रहेको थियो ।

सभाहलसहितको वडा कार्यालयको भवनबाट सेवाग्राहीले छिटोछरितो, प्रभावकारी र नागरिकमैत्री सेवा पाउने बिश्वास गरिएको छ ।