उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारस्थित सातधारेमा रहेको ज्योती जनता बहुमुखी क्याम्पसमा ब्यबस्थित क्यान्टिन भवन (चमेना गृह) बन्ने भएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ र चौदण्डीगढी नगरपालिकाबीच लागत साझेदारीमा निमार्ण हुने क्यान्टिन भवनको नगर प्रमुख कालुमान लामा र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ का गभर्नर केशर बहादुर भण्डारीले संयुक्तरुपमा आज क्याम्पस परिसरमा आज शिलान्यास गरिएको गर्नुभएको छ ।

१ करोड ४१ लाख ४२ हजार १४१ रुपैयाँ मा बन्ने भवनको लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ ले १ करोड ६ लाख ६ हजार ६०६ रुपैयाँ र चौदण्डीगढी नगरपालिकाले ३५ लाख ३५ हजार ५२५ रुपैयाँ लागत साझेदारी गर्ने सहमति छ । तर ईविडिङ्गमार्फत ठेक्का प्राप्त गरेको एस एण्ड पी इन्नोभेसन कन्ट्रक्सन प्रालि, भक्तपुरले भ्याटसहित ८२ लाख ९६ हजार ९३८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको निमार्ण कम्पनीका प्रतिनीधि गोपाल श्रेष्ठले जानकारी दिएका छन् । २ हजार वर्ग फिटमा निमार्ण हुने क्यान्टिन भवन आगामी पुष २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको श्रेष्ठले जानकारी दिएका छन् । यही असार २ गते सम्झौता भएको र आगामी मंसिर महिनासम्ममै निमार्ण सम्पन्न गर्ने योजना रहेको उनले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले क्यान्टिन भवन निमार्णका लागि लामो समयदेखी पहल भएपनि आज शिलान्यास गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । बहाँले शिक्षा, स्वास्थ्य क्षेत्रको परियोजनाहरुमा नगरपालिका साझेदारी गरेर अगाडी बढ्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै लायन्स क्लवकोतर्फबाट निमार्णधिन नगर अस्पतालमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ का गभर्नर भण्डारीले सबैको अथक प्रयासले चौदण्डीगढी नगरपालिकामा यस किसिमको परियोजना पर्न सफल भएको बताउनुहुदै समयमै गुणस्त्तरीय काम गरी भवन सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । साथै गभर्नर भण्डारीले चौदण्डीगढी नगरपालिकामा स्वास्थ्य क्षेत्रमा अर्को परियोजनाको लागि पहल भै रहेको पनि जानकारी दिनुभएको थियो ।
कार्यक्रमलाई उप प्रमुख मणिकादेवी दुलाल, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) मनोजकुमार सापकोटा, लायन्स क्लब चौदण्डीगढी उदयपुरका सभापति तथा कार्यक्रमका अध्यक्ष खगेन्द्र राई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का लगायतले समेत सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले क्याम्पस प्रमुख मनोज कुमार झाको अथक प्रयास र मिहिनेतले चौदण्डीगढी नगरपालिकामा ठुलो रकमको परियोजना पर्न सफल भएकोमा बहाँको प्रशंसा गर्नुभएको थियो ।
क्यान्टिन भवन निमार्णले शिक्षक, बिद्यार्थी, कर्मचारी लगायतले स्वच्छ, सुरक्षित र व्यवस्थित खाद्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।
कार्यक्रम नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीको विशिष्ट आतिथ्यता र लायन्स क्लब अफ चौदण्डीगढी उदयपुरका अध्यक्ष खगेन्द्र राईको अध्यक्षता सम्पन्न भएको थियो ।
