निरन्तरको प्रयासबाट चौदण्डीगढी नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार देखिएको छ । हिजो चैत्र २६ विहिबार प्रकाशित कक्षा ८ को परीक्षामा ८९.१८ प्रतिशत उत्तिर्ण भएका छन् । नगर शिक्षा शाखा चौदण्डीगढीका प्रमुख सुरज कार्कीका अनुसार यही चैत्र ८ गतेदेखी १६ गतेसम्म संचालन भएको कक्षा ८ को परीक्षामा १ हजार २६ जना बिद्यार्थी सहभागी भएकामा ९ सय १५ जना उत्तिर्ण भएका छन् भने १ सय ११ जना अनुत्तिर्ण रहेका छन् । परीक्षामा २९ वटा सामुदायिक बिद्यालयबाट ७५८ जना सहभागी भएकोमा ६५९ जना उत्तिर्ण र ९९ जना अनुत्तिर्ण भएका छन् । त्यस्तै १५ बटा संस्थागत बिद्यालयबाट २६८ जना सहभागी भएकोमा २५६ जना उत्तिर्ण र १२ जना अनुत्तिर्ण भएका छन् । १२२ जना बिद्यार्थी ३.६ देखी ४.० जिपिए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै ३६३ जना ३.२ देखी ३.६ जिपिए, ३४० जना २.४ देखी २.८ जिपिए र १ जना २.० देखी २.४ जिपिए ल्याएर उत्तिर्ण भएका छन् । परीक्षामा चौदण्डीगढी नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत बोडिङ्ग स्कुलगरी ४४ वटा बिद्यालय सहभागी भएका थिए ।
शिक्षा शाखा प्रमुख कार्कीका अनुसार संस्थागत बोडिङ्ग स्कुलको रिजल्ट पहिला पनि राम्रो आउने भएता पनि सामुदायिक सरकारी बिद्यालयको रिजल्ट भने निराशाजनक रहने गरेकोमा नगर प्रमुख कालुमान लामाको निर्देशन र शिक्षा शाखाको निरन्तरको प्रयासपछि रिजल्टमा सुधार देखिएको हो । शैक्षिक शत्र २०८० मा कक्षा ८ को रिजल्ट संस्थागत बिद्यालयको ७१.३१ प्रतिशत र सामुदायिक बिद्यालयको ३०.०१ प्रतिशत रहेकोमा चालु शैक्षिक शत्र २०८२ को रिजल्ट संस्थागततर्फ झण्डै शत् प्रतिशत र सामुदायिक बिद्यालयतर्फ ८६.९३ प्रतिशत देखिएको छ । समग्रमा रिजल्टले सामुदायिक बिद्यालयको अबस्थामा धेरै सुधार देखिएको शिक्षा शाखा प्रमुख कार्कीको भनाई छ । शैक्षिक शत्र २०८० मा कक्षा ८ को नगरस्तरीय परीक्षामा नगरको ४२ वटा बिद्यालय सहभागी भएकोमा ८ वटा बिद्यालयबाट एक जना बिद्यार्थी पनि उत्तिर्ण भएका थिएनन् । चौदण्डीस्थित आधारभुत बिद्यालय गडन्ताबाट १७ जना , बेल्हास्थित आधारभुत बिद्यालयबाट १७ जना, अमलचौरीस्थित जनज्योती आधारभुत बिद्यालयबाट १५ जना, कालिखोलास्थित जनता आदर्श माविबाट ४२ जना , भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयबाट १५ जना, बेल्टार बजारस्थित पञ्चमी आधारभुत बिद्यालयबाट १५ जना, सिद्धिपुरस्थित शारदा आधारभुत बिद्यालयबाट १३ जना र भिमास्थित जन बिकास सेकेण्डरी बिद्यालयबाट ८ जना सहभागी भएकोमा एक जना पनि उत्तिर्ण हुन सकेका थिएनन् । यस बर्ष यी सबै बिद्यालयको रिजल्ट उत्साहप्रद देखिएको छ ।
शिक्षा सुधारलाई प्राथमिकतामा राखेको नगरपालिकाले यसअघि पहिलो चरणमा बिद्यार्थी संख्या कम भएको बिद्यालयहरुको तह घटुवा, शिक्षकहरुको समायोजन, सरुवा लगायतको काम गरेको थियो भने दोश्रो चरणमा बिद्यालयहरुको निरन्तर अनुगमन, शिक्षक दरबन्दी थप, शैक्षिक सामाग्री , बिद्यालयको भौतिक सुधार, शिक्षक र बिद्यार्थीहरुसंग नियमित अन्तरक्रिया लगायतको कार्य गरेको थियो । नगर शिक्षा शाखा प्रमुख कार्कीका अनुसार शिक्षा शाखाले विषयगत कक्षा अबलोकन, शिक्षकको पृष्टपोषन, बार्षिक शैक्षिक पात्रो बनाएर कडाईका साथ लागु गरिएको छ । त्यस्तै यसबिचमा नगरपालिकाले झण्डै ६० जना शिक्षकहरु समायोजन र दरबन्दीबाट थप गरेर बिद्यालयको आबश्यक्ताको आधारमा बिद्यालयहरु पठाइएको कार्कीले जानकारी दिएका छन् । उनले जनप्रतिनीधिहरुको प्राथमिकता, शिक्षा शाखाको निरन्तरको प्रयासले चौदण्डीगढीको शिक्षामा सुधार देखिएको बताएका छन् ।
शाखा प्रमुख कार्कीले कक्षा ८ को मौका परीक्षा यही बैशाख ८ गतेदेखी १४ गतेसम्म संचालन गरिने र बैशाख १५ गते नै रिजल्ट प्रकाशित गर्ने तयारी गरेको जानकारी पनि दिएका छन् । एता हिजो नै प्रकाशित कक्षा ५ को परीक्षामा ९४.८४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । संस्थागत र सामुदायिक ५७ वटा बिद्यालयका गरी ९८८ जना बिद्यार्थी सहभागी भएकोमा ९३७ जना उत्तिर्ण भएका छन् भने ५१ अनुत्तिर्ण भएका छन् ।
