उद्यमशिलता र पारदर्शिता , सहकारीको प्राथमिकता भन्ने नाराको साथ ६९ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि मनाइएको छ । सहकारी शाखा चौदण्डीगढीको अगुवाईमा नगरमा संचालनमा रहेका सहकारी संस्थाहरुको सहभागितामा सहकारी दिवस मनाइएको हो । सोक्रममा विभिन्न सहकारीमा कार्यरत कर्मचारी, पदाधिकारी तथा सहकारीका सदस्यहरुले आज शुक्रवार ब्यानरसहित बेल्टार बजारको परिक्रमा गरेका थिए । नगरपालिकाको प्रारंगमा भेला भएर विपी चौक, पुष्पलाल चौक, स्कुल डाँडा हुदै पुनः नगरपालिकामा पुगेर र्याली समाप्त भएको थियो । बजार परिक्रमापछि नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारीले ईमानदारितापुर्वक सामुहिक हितलाई ध्यान दिएर काम गुर्नपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमख कालुमान लामाले चलायमान अर्थतन्त्र भए मात्र पुंजी निमार्ण हुने बताउदै नगरपालिकाले सहकारीहरुसंग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । उनले नगरमा रोजगारी सृजना गर्नका लागि आगामी आर्थिक बर्षमा सीप सम्मेलन गर्ने तयारी गरेको जानकारी पनि दिएका थिए । सीप सम्मेलनमार्फत युवाहरुले चाहेको आबश्यक तालिमको ब्यबस्था गर्ने र सहकारीसंग सहकार्य गरेर दक्ष जनशक्तीलाई ब्यबसायी बनाउन २५ लाख रुपैयाँ वीउ पूजी नगरपालिकाले उपलब्ध गराउने घोषणा पनि नगर प्रमुख लामाले गरेका थिए । नगर प्रमुख लामाले अहिले सहकारीलाई हेर्ने दृष्टीकोण राम्रो नभएको , त्यस्तै पहुँच, नातागोता, चिनजानको आधारमा ऋण लगानी हुने कारणले सहकारीको रकम जोखिममा पर्ने गरेको बताउदै सहकारीले ब्यबसायिक कार्ययोजना हेरेर मात्र ऋण लगानी गर्नुपर्ने धारणा राखेका थिए ।
नगर सहकारी शाखाका प्रमुख नवराज बरालले शाखाले गरिरहेको कामहरुको बारेमा जानकारी दिदै अहिले नगरपालिकामा ६१ वटा सहकारीहरु दर्ता रहेको भएता पनि ४५ वटा मात्र संचालनमा रहेको जानकारी दिएका थिए । १६ वटा सहकारी खारेजीको प्रक्रियामा रहेको उनको भनाई थियो । साझा बहुउदेश्य सहकारी संस्था बेल्टारका उपाध्यक्ष विक्रम गिरी, नगर स्तरीय सहकारी संजालका संयोजक शंकर बहादुर कार्की लगायतले पनि सहकारी सुधारका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा बेल्टार बजारमा रहेको सप्तकोशी बहुउदेश्य सहकारी संस्थालाई नगरको उत्कृष्ट सहकारी घोषणा गरिएको थियो । उत्कृष्ट सहकारी बन्न सफल सप्तकोशी बहुउदेश्य सहकारी संस्थालाई नगर प्रमुख लामाले नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

