वडा अध्यक्ष अधिकारीले अनियमिता गरेको चौदण्डीगढी नगर कार्यपालिकाको निष्कर्श ।

 

चौदण्डीगढी नगरपालिकाको कार्यपालिका बोर्ड बैठकले वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले ११ लाख रुपैयाँभन्दा बढी रकम अनियमिता गरेको निष्कर्श निकाल्दै असुलउपर गर्ने निर्णय गरेको छ । चैत्र २७ गते शुक्रवार बसेको कार्यपालिकाको बैठकले २ बर्षअघि वि.स. २०८० साल बैशाख २३ गतेदेखी बैशाख ३० गतेसम्म बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा आयोजना गरिएको श्रीमद् भागवत महापुराणमार्फत संकलित रकम मध्ये वडा अध्यक्ष अधिकारीले ११ लाख २५ हजार ५ सय ५५ रुपैयाँ अनियमिता गरेको निष्कर्श निकाल्दै असुलउपर गर्ने निर्णय गरेको हो । पुराणबाट संकलित रकममा अनियमिता भएको र कतिपय चन्दा दाताहरुले कबोल गरेको रकम समेत नदिएको गुनासो आएपछि नगर प्रमुख कालुमान लामाको निर्देशनमा २०८२ साल चैत्र २ गते लेखा अधिकृत–छैटौं, अम्बर बहादुर मगरको संयोजकत्वमा शिक्षा शाखा अधिकृत भक्त कुमार राई, शिक्षा शाखा अधिकृत–छैटौं सदस्य र मिलन रिजाल , सहायक कम्प्युटर अपरेटर सदस्य रहने गरी ३ सदस्य छानविन समिति गठन गरिएको थियो । ७ दिनभित्र यस सम्बन्धमा यथार्थ विवरण र सत्यतथ्य छानविन गरेर प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिको म्याद चैत्र ८ गते ५ दिन र चैत्र ११ गते पुनः ७ दिनको म्याद थप गरिएको थियो ।
छानविन प्रतिवेदनमा बिद्यालय ब्यबस्थापन समितिको २०८२ साल फागुन २६ गते बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केदार के.सी.को अध्यक्षतामा बसेको बैठकको निर्णय, अध्यक्ष के.सी, प्रअ मनिका राई, पुर्व प्रअ प्रेम बहादुर खड्का र महापुराण मुल समितिका संयोजक भुपाल पौडेलको लिखित बयानका आधारमा स्कुल बस खरिदका लागि भनेर संकलित दान रकमबाट १० लाख ५० हजार र प्रअ मनिका राईको हस्ताक्षरीत नगदी रसिद नम्बर ७०६ को दाताबाट कबोल ७५ हजार ५५५ रुपैयाँ महापुराण मुल समितिका सदस्य तथा ब्यबस्थापन समितिका संयोजक केशव अधिकारीलाई दाताले नगद नै दिएको लिखित भरपाईका आधारमा ११ लाख २५ हजार ५५५ रुपैयाँ वडा अध्यक्ष अधिकारीको जिम्मामा देखाइएको छ । जिम्मेबार ब्यक्ति जवाफदेही हुनुपर्ने जवाफदेहिताको सिद्धान्तअनुसार रकम बुझने ब्यक्ति जवाफदेही हुनुपर्ने छानविन समितिको निष्कर्श छ ।

समितिले १९ दिन लामो छानविनमा विद्यालयका प्रअ मनिका राई, तत्कालिन प्रअ प्रेम बहादुर खड्का, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केदार के.सी., महापुराण आर्थिक समितिका संयोजक रामजी कटुवाल , महापुराण मुल समितिका संयोजक भुपाल पौडेल लगायतसंग लिखित बयान, चन्दादाता जनक कार्कीको लिखत भरपाई लगायतको बिष्लेशन गर्दै वडा अध्यक्ष तथा महापुराण मुल समितिका सदस्य र ब्यबस्थापन समितिका संयोजक अधिकारीले बिद्यालयका लागि स्कुल बस खरिद गर्न १० लाख ५० हजार रुपैयाँ लिएको , त्यस्तै चन्दादाता जनक कार्कीले वडा अध्यक्ष अधिकारीलाई नै ७५ हजार ५ सय ५५ रुपैयाँ बुझाएको भनी स्कुललाई गरिदिएको भरपाईलाई आधार बनाएको छ ।

छानविन समितिले छानविनको क्रममा स्कुल बस खरिदबिक्रि सम्बन्धी कुनै कागजात, निर्णय केही नभएको , स्कुल बस समेत बिद्यालयमा नभएको पाएपछि लिखित बयान दिनेहरुको बयानका अनुसार वडा अध्यक्ष अधिकारले स्कुल बस खरिदका लागि लिएको पैसा र चन्दादाता जनक कार्कीको पैसा अनियमित गरेको निष्कर्श निकाल्दै प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।


यसैबिच नगरपालिकाले कानुनी परामर्शदाता अधिवक्ता सुरेन्द्र बस्नेतसंग सुझाव माग्दा सम्बन्धित संलग्न पक्षलाई अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ (क) बमोजिम ठगीमा जाहेरी दिनुपर्ने र सार्वजनिक सम्पति हिनामिना र अनियमिता गरिएको सम्बन्धमा आबश्यक अनुसंधानका लागि अख्तियार दुरुपयोग आयोग समक्ष पत्राचार गुर्नपर्ने सुझाव दिएकोमा नगर कार्यपालिका बैठकले वडा अध्यक्ष अधिकारीलाई २०८३ साल बैशाख १५ गतेसम्ममा खर्चको मनासिव प्रमाण पुष्टाई हुने कागजात वा रकम सम्बन्धित बिद्यालयलाई फिर्ता गर्न पत्राचार गर्ने निर्णय गरेको छ । यसअघि नगरपालिकाको शिक्षा शाखाले वडा अध्यक्ष अधिकारीलाई उक्त रकम चैत्र मसान्तसम्ममा बिद्यालयमा फिर्ता गर्न भनेको थियो ।

एता बिद्यालय ब्यबस्थापन समितिको २०८२ साल फागुन २६ गते बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केदार के.सी.को अध्यक्षतामा बसेको बैठकले प्रस्ताव नम्बर ४ विविध विषयमा छलफल गर्दै पुर्व प्रअ प्रेम बहादुर खड्का र चौनपा वडा नम्बर ७ का वडा अध्यक्ष वडा अध्यक्ष केशव अधिकारीले यस समितिलाई मौखिक जानकारी गरेअनुसार बस बिक्री गरी सो वापतको रु. ४ लाख रुपैयाँ बिद्यालयले लिन बाँकी नै रहेको भने बमोजिम सो रकम समेत बिद्यालयलाई हरहिसाव बुझाउन चौनपा वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी नै जिम्मेबार रहने भनी निर्णय गरियो र सोही अनुसार चौदण्डीगढी नगरपालिकालाई पुराणमा भएको आम्दानी र खर्चको उपलब्ध भर्पाई पेश गर्ने भनी निर्णय गरियो भनी निर्णय गरिएको देखिन्छ ।

तर बिद्यालयका प्रअ मनिका राईले यही चैत्र २६ गते वडा अध्यक्ष अधिकारीलाई पत्र लेख्दै वडा अध्यक्ष अधिकारीको आग्रहमा बिद्यालयमा यही चैत्र २६ गते बसेको बिद्यालयको सर्वपक्षिय भेलाले हेर्दा अधिकारीको जिम्मामा रकम नदेखिएको भन्दै पत्र दिएकी छिन् । पत्रमा नगरपालिकाले सोधखोज गरेको ११ लाख २५ हजार ५५५ रुपैयाँको हरहिसाव के छ भन्ने विषयमा केही उल्लेख छैन । उनले भेलाको निर्णयलाई आधार बनाई सिधै पत्र पठाएको देखिएको छ ।

यसैबिच प्रअ राईले पठाएको पत्र देखाउदै वडा अध्यक्ष अधिकारीले मेरो नाममा कुनै प्रकारको रकम अपचलन हिनामिना नदेखिएकोले भन्दै छानविन समितिलाई पत्राचार गरेका छन् ।

प्रतिवेदन अनुसार महापुराणमा चन्दादाताहरुले जग्गा र नगदगरी ६९ लाख ३४ हजार ३ सय ४५ रुपैयाँ कबोल गरेकोमा ३६ लाख १० हजार १ सय ४ रुपैयाँ संकलन भएको र ३२ लाख ४३ हजार ४ सय ८० रुपैयाँ उठ्न बाँकी रहेको देखिएको छ ।