अलपत्र भवन निर्माण सम्पन्न भएसंगै ज्योति जनता बहुमुखी क्याम्पसको पुस्तकालय संचालनमा ।

अलपत्र भवन निर्माण सम्पन्न भएसंगै ज्योति जनता बहुमुखी क्याम्पसको पुस्तकालय संचालनमा आएको छ । चौदण्डीगढी नगरपालिकाले अलपत्र अबस्थामा रहेको भवन निर्माण सम्पन्नताका लागि ३ लाख रुपियाँ लगानी गरेपछि पुस्तकालय संचालनमा आएको हो । केही समय अघि नै संचालनमा आएको पुस्तकालयको तत्कालीन प्रदेश नम्बर १ सभाकी सदस्य अम्बिका थापा र चौदण्दीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज एक कार्यक्रमकोबिच संयुक्तरुपमा उद्घाटन गरेका छन् । तत्कालीन प्रदेश नम्बर १ सभा सदस्य थापाले आर्थिक बर्ष २०७७/०७८मा संसदीय बिकास कोषबाट ७ लाख रुपैयाँ बिनियोजन गरेपछि पुस्तकालय भवनको निर्माण शुरु भएको थियो । भवन निर्माणका लागि वडा नम्बर ६ ले १ लाख रुपैयाँ लगानी गरेको थियो भने अलपत्र भवन निर्माण सम्पन्नताका लागि नगरपालिकाले ३ लाख रुपैयाँँ सहयोग गरेको थियो ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन प्रदेश सभा सदस्य थापाले आफुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको र नगरको एक मात्र बहुमुखी क्याम्पसमा पुस्तकालयको अभाव रहेको देखेपछि बजेट विनियोजन गरेको बताएकी थिईन । उनले पुस्तकालय संचालनमा आएपछि खुशी लागेको समेत बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगरपालिकाले शिक्षा क्षेत्रको बिकासको लागि थुप्रै कामहरु गरेको उल्लेख गर्दै क्याम्पसलाई सुबिधा सम्पन्न बनाउन लागि परेको जिकिर गरेका छन् । नगरमा रहेको दुईवटा क्याम्पसलाई बार्षिक रुपमा आर्थिक अनुदान प्रदान गरिरहेको र ज्योति जनता क्याम्पसमा लाईन्स क्लब अफ ईन्टरनेशनल सङको साझेदारीमा एक करोड ४२ लाखको लागतमा क्यान्टिन भवनको निर्माण गर्ने चरणमा रहेको बताएका थिए । नगर प्रमुख लामाले सिमित श्रोत साधनका कारण ईलाईब्रेरी स्थापना गर्न कठिनाइ भए पनि आगामी दिनमा ईलाईब्रेरी स्थापनामा पालिकाले जोड दिने प्रतिबद्धता पनि ब्यक्त गरेका गरेका थिए । यस्तै नगर प्रमुख लामाले युवाहरुलाई कसैको वहकावमा नलागी आवेग र उतेजना नभैइ विवेक प्रयोग गर्न सुझाव दिएका थिए ।

पुर्व नगर प्रमुख खगेन्द्र राईले बिद्यार्थी र अभिभावकहरुले आफ्नो जन्मदिनमा एक एक वटा पुस्तक दिदा पनि पाँच सय पुस्तक संकलन हुने बताउदै रचनात्मक रुपले पुस्तकालयलाई सहयोग गर्न सकिने धारणा राखेका थिए । क्याम्पस प्रमुख मनोज कुमार झाले अहिले पुस्तकालयमा बिश्व बिद्यालय अनुदान आयोगबाट प्राप्त करिव ४ लाख रुपैयाँको पुस्तक खरिद गरेर पुस्तकालय संचालनमा आएको जानकारी दिएका थिए । उनले क्याम्पसलाई सुबिधा सम्पन्न बनाउनका लागि बिश्व बिद्यालय अनुदान आयोगलाई थप आग्रह गरिएको र थप ६-७ लाख रुपैयाँ प्राप्त हुने बताएका थिए । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य तुलसीराम खत्री, क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ , क्याम्पस संचालक समिति सदस्य शम्भु पौडेल लगायतले समेत आफ्नो धारणा राखेका थिए ।

चौदण्दीगढी नगरपालिकाले क्याम्पस प्रमुखको पारिश्रमिक अनुदानको रुपमा दिने गरी मनोज कुमार झालाई पुर्णकालीन क्याम्पस प्रमुखमा नियुक्त गरेपछि क्याम्पसको शैक्षिक र प्रशासनिक क्षेत्रमा सुधार देखिनुको साथै क्याम्पसको भौतिक पुर्वाधार निर्माणमा समेत उल्लेख्य सुधार आएको छ ।