वडा कार्यालयको पहलमा चौदण्डीगढीकी ८१ बर्षिया बृद्धाले प्राप्त गरिन् नागरिकता।

वडा कार्यालयको पहलमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ की ८१ बर्षिया बृद्धाले नागरिकता प्राप्त गरेकी छिन् । वडा अध्यक्ष लुङ्गराज राईको पहलमा प्रमुख जिल्ला अधिकारीले आज बसहा मकमडाँडाकी ८१ बर्षिया बृद्धा कालमाया राईलाई नागरिकता प्रदान गरेको हो । बृद्ध अबस्थाको भएर पनि सामाजिक सुरक्षा भत्ताका लागि नाम नभएपछि वडा अध्यक्ष राईले बृद्धाको विषयमा सोधखोज गरेका थिए । विक्रम सम्वत २००१ साल बैशाख १ गते जन्ममिति भएपनि कालमायाको नागरिकता भने थिएन । वडा अध्यक्ष राईले आबश्यक कानुनी प्रक्रिया पुरा गरेर बृद्धालाई आज सदरमुकाम गाईगाट लगेका थिए ।

५ छोरा र २ छोरीकी आमा कालमाया नागरिकताको अभावमा सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुदै आएकी थिईन भने श्रीमानको मृत्यू पश्चात जग्गा नामसारी समेत हुन सकेको थिएन । यस्तै उनी मताधिकारबाट समेत बन्चित भएकी थिईन् । उनलाई आज बंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । ८१ वर्षिय महिलालाई सम्भवत यो उमेरमा नागरिकता प्रदान गरिएको पहिलो घटना पनि भएको प्रशासनले जनाएको छ । आज नै रास्ट्रिय परिचय पत्र बनाई यसै श्रावण महिनाबाट सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन समेत वडाअध्यक्ष लुङ्गाराज राईसंग समन्वय गरेको जिल्ला प्रसाशन कार्यालयले जानकारी दिएको छ ।

यसैबिच सामाजिक सुरक्षा भत्ताको लागी आबश्यक प्रक्रिया आईतवार बाट नै शुरु गर्ने वडा अध्यक्ष राईले बताएका छन् ।