चौदण्डीगढीमा पटक पटक जरिवाना गरेपनि औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालित।

चौदण्डीगढी नगरपालिकामा पटक पटक जरिवाना गरेपनि मापदण्ड विपरीत औषधि पसलहरु सञ्चालित रहेको भेटिएको छ । गत महिना नगरपालिकाको बजार अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित रहेका औषधि पसलहरुलाई जरिवाना गरेको थियो । तर झण्डै एक महिनापछि आज सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार र बसहामा रहेका औषधी पसलहरुमा छड्के अनुगमान गर्दा नगरपालिकाको बजार अनुगमन टोलीले जरिवाना गरेका केही पसलहरु मापदण्ड विपरीत नै सञ्चालित रहेको भेटिएपछि उनीहरुलाई पुनः जरिवाना गरिएको हो । अनुगमन टोलीले बेल्टार बजारस्थित पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको छ भने वसहास्थित महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हल सिल गरेको छ । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको थियो भने अवैधानिक रुपमा मापदण्डविपरीत सञ्चालन गरेको बीज मेडिकलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिएका छन् ।

यसअघि नगरपालिकाको बजार अनुगमन टोलीले शुभम डेन्टल प्रालिलाई १० हजार र दिव्यान्स फार्मेसीलाई ३ हजार रुपैयाँ जरिवाना गरेको थियो । तर जरिवाना गरिए पनि आज सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले यिनीहरुलाई मापदण्ड विपरित रहेको फेला पारेपछि फेरी पनि जरिवाना तिराएको छ । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारीसहित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट, पत्रकार र चौदण्डीगढी नगरपालिकाका प्रतिनीधिहरु सहभागी रहेका थिए ।