सोमबार सार्वजनिक कक्षा १२ को परिक्षामा उदयपुरको चौदण्डीगढी नगरपालिकामा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट भएका छन् । वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरी मावीकी छात्रा निर्मला खड्काले नगरमै ३.७८ जिपिए ल्याएर उत्कृष्ट भएकी हुन् । खड्का जिल्ला मै उत्कृष्ट भएको सो विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले जानकारी दिएका छन् । चौदण्डीगढीमा ९ वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालयगरी ११ वटा बिद्यालयका ५ सय ८३ जनाले परिक्षा दिएकोमा ३ सय ४४ जना ग्रेडेड भएका छन् ।
नगर शिक्षा शाखाका शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार कक्षा १२ को नतिजामा यस पटक सुधार देखिएको छ । वडा नम्बर ८ लुङिन्टारस्थित जनता माविको नतिजा सामुदायिक बिद्यालयतर्फ उत्कृष्टको देखिएको छ । जनता मावी लुङिन्टारबाट २९ जना बिद्यार्थी परीक्षामा सहभागी भएकोमा २७ जना अर्थात ९३.१ प्रतिशत बिद्यार्थी ग्रेडेड भएका छन् । यस्तै थानपोखरी मावीको ८६.९६ प्रतिशत, माडिबासस्थित सिंहदेवी मावीको ८१.०८ प्रतिशत, कालिका मावी सिर्वानीको ७६.१९ प्रतिशत, जनता मावी हडियाको ६९.१४ प्रतिशत, ज्योति मावि बेल्टारको ४१.८४ प्रतिशत , नारद आदर्श मावी बसहाको ४२.९८ प्रतिशत नतिजा आएको छ । यस्तै मावी आमसाल बसहाको ३८.२४ प्रतिशत र मावि सिवाईको २७.२७ प्रतिशत बिद्यार्थी ग्रेडेड भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । संस्थागत बिद्यालयतर्फ भने बेल्टार बजारस्थित पुमा बोडिङ्ग स्कुलको नतिजा शत प्रतिशत रहेको छ । नगरमा संचालित अर्को संस्थागत बिद्यालय सगरमाथा बोडिङ्ग स्कुलको नतिजा भने ८० प्रतिशत रहेको नगर शिक्षा शाखाले जनाएको छ । समग्रमा नगरमा ५९ प्रतिशत बिद्यार्थी ग्रेडेड भएको नगर शिक्षा शाखा प्रमुख कुवँरले जानकारी दिएका छन् । हिजो सार्वजनिक कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
कक्षा १२ को नतिजामा कसैले पनि ४ जीपीए नल्याएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । उनले सार्वजनिक नतिजामा अधिक्तम जीपीए ३.९६ सम्म मात्र आएको जानकारी दिएका छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् ।
