२ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित संस्थागत बिद्यालय, बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा फागुन २९ गते बसेको नगर शिक्षा समितिको बैठकले संस्थागत बिद्यालयहरुलाई नियमन तथा ब्यबस्थापन गर्ने गरी फागुन २७ गते शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा संस्थागत बिद्यालयका प्रधानाध्यपकहरुसंग बसेको बैठकले गरेको निर्णयलाई लागु गर्ने निर्णय गरेको छ ।
फागुन २७ गते शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा बसेको बैठकले संस्थागत बिद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृती सम्बन्धमा छलफल गर्दै संस्थागत बिद्यालयहरुको जम्मा बिद्यार्थी संख्याको परीक्षा, भर्ना, मासिक शुल्कको १० प्रतिशत छात्रवृती मध्ये कुल रकमको १० प्रतिशतलाई १०० प्रतिशत मानी बिद्यालयबाट ६६ प्रतिशत मा नियमानुसार छात्रबृती प्रदान गर्ने र ३४ प्रतिशत नगरको छात्रवृती कोषमा जम्मा गरी नगरबाट नियमानुसार छात्रवृती प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै उक्त बैठकले नेपाल सरकारको श्रम ऐन संसोधनसहितले तोके बमोजिमको न्युन्तम पारिश्रमिक नघटाई नियमानुसार पाउने शिक्षक तथा कर्मचारीको तलव भत्ता संस्थागत बिद्यालयले उपलब्ध गराउनुपर्ने र उनीहरुको तलब भत्ता बैकमार्फत उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो । त्यस्तै शिक्षा शाखा र बोडिङ्ग स्कुलका प्रधानाध्यापकहरुबीचको बैठकले बिद्यालयहरुको वर्गीकरण गरी चैत्र मसान्तसम्ममा शुल्क निर्धारण गर्ने निर्णय पनि गरेको शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् ।
नगर प्रमुख कालुमान लामाले गत बर्षदेखी नै नगरको शिक्षालाई सुधार गर्ने भन्दै कडा कदमहरु चलिरहेका छन् । गत बर्ष सामुदायिक बिद्यालयहरुलाई सुधार गर्न बिद्यालयहरुको तह घटुवादेखी शिक्षक कर्मचारीको सरुवासम्म गरेका थिए । यस बर्षभने संस्थागत बिद्यालयहरुको नियमन र ब्यबस्थापनमा नगर शिक्षा शाखाले जोड दिएको छ । त्यस्तै नगर शिक्षा शाखाले विपन्न लक्षित बिद्यार्थी शिक्षा छात्रवृतीको लागि नगरमा संचालित क्याम्ससका १५ जना बिद्यार्थीहरुलाई बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ र बिद्यालय तहका ७१ जना बिद्यार्थीहरुलाई एकमुष्ट ८ हजार रुपैयाँ नगद दिने निर्णय पनि गरेको छ ।
