०८ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित आधारभुत नगर अस्पताल बेल्टारले आजदेखी आफ्नै फार्मेशी सेवा संचालनमा ल्याएको छ । अस्पतालको आफ्नै फार्मेशी संचालनमा आएपछि अब नियमितरुपमा औषधीको उपलब्धता हुने स्वास्थ्य नगर शाखाका प्रमुख श्रीकान्त चौधरीले जानकारी दिएका छन् । अस्पतालले औषधी सप्लायर्सका रुपमा सुनसरीको न्यू संगीता मेडिकल हल र उदयपुरको त्रियुगा नगरपालिकाको लोटस फार्मेशीसंग सम्झौता समेत गरेको छ भने फार्मेशी संचालनका लागि ३ जना नयाँ फर्मासिस्ट कर्मचारी समेत भर्ना गरेको छ । अस्पतालका सुचना अधिकारी मदन कार्कीले विमाको औषधी धेरैसम्म उपलब्ध भैसकेको र अबको १०–१५ दिनमा विरामीले जुन कम्पनीको औषधी खाने गरेका छन् त्यही कम्पनीको नै औषधी उपलब्ध गराउने बताएका छन् ।
यसअघि अस्पताल परिसरमा संचालित फार्मेशीका संचालकले डाक्टरले लेखेको भन्दा भिन्न कम्पनीको औषधी दिने गरेका थिए भने कतिपय औषधीहरु नरहेको भन्दै उपलब्ध नगराउने गरेको राष्ट्रिय विमा बोर्डमा स्वास्थ्य विमा गरेका विरामीहरुले गुनासो गर्दै आएका थिए । आजबाट अस्पतालले आफ्नै फार्मेशी संचालन गरेपछि सो समस्याको समाधान भएको छ ।
यस अघिको फार्मेशी संचालक गोपीकृष्ण मेडिकल हल बेल्टारले सम्झौता अनुसार सटर भाडा नतिरेको जनाउदै नगरपालिकाले फागुन ३० गते एक पत्र पठाउदै सटर भाडा बहाल सम्झौता रद्ध गरिएको जानकारी गोपीकृष्ण मेडिकल हलका संचालक विरेन्द्र झालाई दिएको थियो । नगरपालिकाले सम्झौता अनुसार २०८० साल असोज मसान्तपछि प्रत्येक ३/३ महिनामा सटर भाडा चौथो महिनाको पहिलो हप्तामा बुझाउनु पर्ने र नबुझाएमा धरौटी वापतको रकमबाट भाडा कट्टा गरिने र धरौटी रकम सकिएपछि नगरपालिकाले सटर खाली गराउन सक्ने शर्त रहेको उल्लेख गर्दै शर्त पालना नभएको जनाउदै सटर बहाल सम्झौता रद्ध गर्ने निर्णय भएको जनाउदै एक हप्ताभित्र सटर खाली गर्न आग्रह गरेको थियो । साथै नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत श्रावण महिनाको १६ गते अस्पताल फार्मेशी निर्देशिका २०७२ बमोजिम आफ्नै स्वामित्वमा रहेको अस्पताल फार्मेशी मार्फत अस्पतालमा प्रयोग हुने सम्पुर्ण औषधी तथा औषधीजन्य सामाग्रीहरु २४ घण्टा नै विरामी वा विरामीको कुरुवाले प्राप्त गर्न सक्ने अबस्थाको सुनिश्चिता गर्न पत्र पठाउदै निर्देशन दिए बमोजिम कार्य गर्नलाई पनि सटर खाली गराउनुपर्ने जनाउदै सटर भाडा सम्झौता रद्ध गर्नुपरेको उल्लेख छ । नगरपालिकाले गोपी कृष्ण मेडिकल हलसंग गत आसार ३१ गते बार्षिक ६५ लाख रुपैयाँ सटर भाडा वापत लिने गरी २ बर्षको लागि सम्झौता गरेको थियो । जसमा फार्मेशी संचालकले ३ महिनाको अग्रीम भाडा र ३ महिनाको भाडा धरौटी वापत ३२ लाख ५० हजार रुपैयाँ बुझाएको थियो । तर ८ महिना पछि नै नगरपालिकाले सम्झौता रद्ध गर्दै धरौटीमा भाडा कटाएर पनि बढी समय सटर प्रयोग गरेको भन्दैे थप १२ लाख रुपैयाँभन्दा बढी रकम संचालकसंग माग गरेको छ ।
यस्तै नगर अस्पताले फागुन १६ गते फार्मेशी संचालनका लागि औषधी आपूर्ती सम्बन्धी सुचना जारी गरेको थियो जसमा ६ वटा फर्मले आवेदन दिएका थिए । त्यस मध्ये स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको प्राविधिक मुल्यांकन समितिले सुनसरीको न्यू संगीता मेडिकल हल र उदयपुरको लोटस फार्मेशीलाई औषधी आपुर्तीका लागि छनौट गरेको थियो । आवेदन दिनेहरुमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टारस्थित दिब्यान्स फार्मेशी, वडा नम्बर ७ बेल्टारस्थित गोपीकृष्ण मेडिकल हल, सुनसरी ईनरुवाको भारद्धाज औषधालय, सुनसरीकै न्यू संगीता मेडिकल हल, उदयपुर गाईघाटका लोटस फार्मेशी र मोरङ्ग विराटनगरका केयरप्लस डिस्ट्रिब्युटर रहेका थिए । जसमा औषधीमा रहेको अधिक्तम मुल्यको ५१ प्रतिशत छुट दिने भनेर प्रस्ताव गरेका गोपीकृष्ण मेडिकल हलले कर चुक्ताको प्रमाण पत्र नबुझाएको तथा ५० प्रतिशत छुट दिने भनेर प्रस्ताव गरेका दिब्यान्स फार्मेशी सप्लायर्स नभएर खुद्रा विक्रेता भएकाले छनौटमा पर्न नसकेको अस्पतालका सुचना अधिकारी मदन कार्कीले बताएका छन् । उनले छनौट भएका फार्मेशीले औषधीमा रहेको अधिक्तम मुल्यको १३.७ प्रतिशत छुट र २० प्रतिशतभन्दा वढी वोन्स दिने जनाएका छन् ।
