बेल्टार बजारको फोहरमैला ब्यबस्थापन अझै अनिश्चित ।

२९ फागुन २०८०, सन्तोष कुमार रौनियार…

विगत ३ महिनादेखी नउठिरहेको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको फोहर तत्काल उठने लक्षण देखिएको छैन । गर्मी मौसमको शुरुवात हुदै गएको र बजार क्षेत्रमा जताततै फोहर अब्यबस्थितरुपमा फालिएकोले कुनै पनि बेला संक्रामक रोगको प्रकोप हुने देखिएको छ । नगरको १० वटा वडा मध्ये वडा नम्बर ६ र ७ मा रहेको नगरको प्रशासनिक तथा ब्यापारिक केन्द्र बेल्टार बजारमा जताततै देखिएको फोहरले बजारको सुन्दरतामा हा्रस त पुर्याएको नै छ त्यसमाथी ३ महिनादेखी फोहर नउठ्दा जिम्मेवार निकाय र पदाधिकारीमाथी पनि प्रश्न उठाएको छ । बजारको फोहर ब्यबस्थापनका लागि नगरमा क्रियाशिल दलहरुले बिज्ञप्ती जारी गरेर वडा र नगरको ध्यानाकर्षण गराईसकेका छन् । चौक चौकमा फोहरको बिषयमा छलफल भए पनि यसको ब्यबसथापन हुन सकेको छैन । केही समय पहिले वडा नम्बर ६ को कार्यालय सिर्वानीमा वडा अध्यक्ष अम्बर बहादुर खड्काको अध्यक्षतामा बसेको वडा नम्बर ७ का प्रतिनीधि, वडामा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, टोल बिकास समितिका प्रतिनीधि, ब्यापारी, ब्यबसायी, सामाजिक अगुवाहरुको बैठकले वडा नम्बर ५ ढेलाचौरीस्थित ज्योती माध्यमिक बिद्यालयको जग्गा भाडामा लिएर दिर्घकालिनरुपमा फोहरमैला ब्यबस्थापन गर्न सकिने र तत्कालका लागि अस्थायीरुपमा नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ६ र ९ को सिमाना ज्यामिरेस्थित डम्पिङ्ग साईटमा फोहर फाल्नुपर्ने निर्णय गर्दै नगरपालिकालाई अनुरोध गरेको थियो । तर यस बिषयमा थप छलफल भएको छैन ।
गत असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति गर्दै नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । तर उक्त समितिले ठोस कार्य नगर्दै समितिका अधिकांश सदस्यले राजिनामा दिएपछि फोहरमैला ब्यबस्थापनको समस्या झन चर्कदै गएको छ ।
एता नगर प्रमुख कालुमान लामाले आफुले कार्यपालिकाको बोर्ड बैठकमा यस बिषयमा बृहत छलफल गरेर नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा एउटा समिति बनाएको र तत्कालका लागि पहिला फोहर फालिरहेको स्थानमा नगरपालिकाले घेराबेरा गरेर काम गर्न खोज्दा घेराबेरा समितिमार्फत गर्नुपर्ने, समितिमा आफु बस्नुपर्ने आशयका कारण उक्त स्थानमा फोहरमैला फाल्न अबरोध भएको दावी गरेका छन् । नगर प्रमुख लामाले दिर्घकालिनका लागि फोहरमैला ब्यबस्थापनका लागि स्थान पहिचान भएका नगरपालिकाले बजेट ब्यबस्थापन गर्ने बताउदै तत्कालका लागि वडा कार्यालयहरुलाई आफ्नो वडाको फोहर ब्यबस्थापन आफै ब्यबस्थापन गर्न निर्देशन दिएको जनाएका छन् । उनले ६ र ७ नम्बर वडाका बाहेक अन्य वडाहरुले फोहरमैला ब्यबस्थापन गरिरहेको पनि जानकारी दिएका छन् ।
फोहरमैला ब्यबस्थापनको सबैभन्दा बढी समस्या रहेको वडा नम्बर ६ र ७ बजार क्षेत्र हो । वडा नम्बर ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रको जग्गामा तीन महिनाअघिसम्म पनि नगरपालिकाले फोहर फालिरहेकोमा त्यस बरिपरि रहेका बस्तीका बासिन्दाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै फोहर फाल्न रोक लगाएका छन् ।