२८ फागुन २०८०, सन्तोष कुमार रौनियार…

स्थानीय युवाहरुको सकृयतामा उदयपुरको बसहामा ट्राफिक सचेतनासम्बन्धी होडिङ्ग बोर्डका साथै सडक लेन पालना गराउन क्याट आई राखिएको छ । चौदण्डीगढी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय बेल्टार र ट्राफिक प्रहरीको आग्रहमा बसहा बर्खेडाँडाका स्थानीय युवाहरुको सकृयतामा झण्डै एक लाख रुपैयाँको लागतमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मदन भण्डारी राजमार्ग अन्तर्गत वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी चौकमा ट्राफिक संकेतसहितको जनचेतनामुलक होडिङ्गबोर्ड राखिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश पुनले जानकारी दिएका छन् । नारदमुनी चौकमा लेन ब्यबस्थापनका लागि ६० थान क्याट आई बिछ्याइएको र ४ वटा होडिङ्गबोर्ड राखिएको स्थानीय युवा तथा सहजकर्ता सुमन राना मगरले बताएका छन् ।
यस अघि युवाहरुको आर्थिक सहयोगमा नारदमुनी चौक र मोति मेमोरियल बोडिङ्ग स्कुलस्थित मदन भण्डारी सडकमा जेव्राक्रसिङ्ग निमार्ण गरिएको थियो । पछिल्लो समयमा मदन भण्डारी राजमार्ग भएर गुड्ने सवारी साधनको संख्या बढ्न थालेसंगै सडक दुघर्टनाको सम्भावना पनि बढेर गएको छ । नारदमुनी चौकै नजिक बिद्यालयहरु रहेको तथा दिनहु सयौंको संख्यामा बिद्यार्थीले राजमार्ग वारपार गर्नु पर्ने बाध्यता रहेकोले जेव्रा क्रसिङ्गको निमार्ण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले बताएका छन् भने उनले सडकमा यातायातका साधनले आफ्नो लेनमा सवारी चलाउन सहज होस् भन्ने उदेश्यले रातीको समयमा पनि देखिने क्याट आई सडकको दायाँबायाँ र बिचमा ओछ्याईको जानकारी दिएका छन् ।
समुदाय प्रहरी साझेदारीमा सचेतनामुलक कार्यक्रम अन्तर्गत नियमित जस्तो बिभिन्न कार्यक्रम गरिरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले पछिल्लो समयमा स्थानीयहरुको सहयोगमा ट्राफिक सम्बन्धी गतिबिधीलाई पनि समेटेर अगाडी बढाएको छ । यसअघि पनि प्रहरीले स्थानीय संघसंस्थाको सहयोगमा वडा नम्बर ७ स्थित लाटीखोला पुलको घुमाउरो सडकमा रिफ्लेक्टिभ बोर्ड राखेको थियो भने वडा नम्बर ६ रातमाटेस्थित मोडमा सडक डिभाईडर राखेको थियो ।





