२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा हुने जनसभाका लागि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले पनि तयारी तिब्र बनाएको छ । हिजो बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा नगर कमिटी उपाध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा बसेको बैठकले चौदण्ढीगढी नगरपालिकाबाट २ सय जनाभन्दाबढी नेता कार्यकर्ताहरुलाई जनसभाका लागि लैजाने निर्णय गर्दै नगरमा एमालेबाट निर्वाचित जनप्रतिनीधि, नगर कमिटीका पदाधिकारी, वडा कमिटीको पदाधिकारी, जनबर्गीय संगठनका पदाधिकारीहरुलाई अनिवार्य जानुपर्ने निर्णय गरेको छ । यस्तै अन्य कार्यकर्ता तथा शुभेच्छुकहरुलाई पनि अनुरोध गर्ने बताएको छ । एमाले नगर कमिटी सचिव विकास बन्जराका अनुसार ओखलढुंगाको हर्कपुरमा हुने जनसभामा जानकालागि ६ वटा बसको ब्यबस्था गरिएको बताएका छन् । यस्तै तयारीका लागि नगरकमिटीलाई मुल ब्यबस्थापनको जिम्मेबारी दिईएको तथा नगर उपसचिव मिना राईको संयोजकत्वमा ३ सदस्य आर्थिक समितिको गठन गरिएको बन्जराले जानकारी दिएका छन् ।
बैठकमा प्रदेश कमिटी सद्स्य पदम राई, प्रकाश बस्नेत, कान्ता राई र पुर्ब प्रदेश कमिटी सदस्यहरु, नेकपा एमाले जिल्ला कमिटी सचिव कालुमान लामा लगायत जिल्ला कमिटीका सद्स्यहरु, नगर कमिटी र वडा कमिटीको अध्यक्षहरुको उपस्थिति रहेको थियो । गत मंसिर १४ गतेदेखी शुरु भएको बैतडीको झुलाघाटदेखि पाचथर जिल्लाको चिवाभञ्ज्याङ्सम्मकोे नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्राको १३औं दिन मंसिर २६ गते पार्टी अध्यक्ष ओलीसहितको केन्द्रीय नेताहरुको टोली उदयपुरको घुर्मी हुदै ओखलढुंगाको हर्कपुरमा हुने जनसभामा सहभागी हुने कार्यक्रम रहेको छ । अभियानका क्रममा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली लगायत एक सय भन्दा बढी केन्द्रीय स्तरका नेताहरु एकैपटक आउने भएपछि एमाले उदयपुरले कार्यक्रम भब्य बनाउन ब्यापक तयारी गरेको हो ।
