अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिकाद्वारा ३५ दिने सुचना जारी ।

२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले अतिक्रमणमा परेको करिव ३३ विगहा सार्वजनिक जग्गा खाली गराउन ३५ दिने सुचना जारी गरेको छ । नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ मा पर्ने द्वारखोला आसपासको नदी उकास जग्गाको साथै वडा नम्बर ६ मा रहेको औद्योगिकग्रामको जग्गा बिभिन्न ब्यक्तीहरुबाट अतिक्रमण भएको जनगुनासो आएकोले उक्त अतिक्रमित जग्गाहरु ३५ दिनभित्र खाली गरिदिन सम्बन्धित ब्यक्तीहरुलाई आग्रह गरेको हो ।

हिजो एक सुचना जारी गर्दै नगरपालिकाले मंसिर १४ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार सुचना प्रकाशन तथा प्रसारण भएको मंसिर २१ गतेको मितिबाट लागु हुनेगरी ३५ दिने सुचना जारी गरेको हो । तोकिएको समयभित्र अतिक्रमित जग्गा खाली नगरेमा कानून अनुसार नगरपालिकाले खाली गराई संरक्षण गर्न बाध्य हुने पनि जनाएको छ । नगरपालिकाले केही समय पहिले वडा नम्बर ६ र ७ मा पर्ने द्वारखोला आसपासको नदी उकास जग्गाको वर्तमान अबस्थाको पहिचान, उकास जग्गाको संरक्षणका लागि आबश्यक तर्जुमा गरी संरक्षण गर्न सहयोग गर्न तथा तीव्ररुपमा भैरहेको जग्गाको अतिक्रमणलाई निरुत्साहित गर्ने उदेश्यले नगरको नापी शाखा प्रमुख अमिन पदम बिक्रम शाही, अमिन प्रकाश आचार्य, तत्कालिन नगर प्रहरी संयोजक गणेश कुमार कार्की र नायव सुब्बा नवराज वराल रहेको एक अध्ययन टोली गठन गरेको थियो । सो टोलीले वडा नम्बर ६ र ७ मा पर्ने द्वारखोला आसपासको नदी उकास जग्गाको टि.एस. मेसिनबाट क्षेत्रफल नापी बर्तमान अबस्थाको बारेमा अध्ययन प्रतिवेदन नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेललाई बुझाएको थियो ।

प्रतिवेदन अनुसार द्वारखोला नदी उकास जग्गा २१ विगहा १ कठ्ठा १४ धुर देखिएको थियो भने उक्त जग्गामा २१ वटा पक्की घर, १५० वटा कच्ची घर, १४ वटा गोठ र ९२ वटा वंगुरको खोर निमार्ण भै अतिक्रमणमा परेको रिपोर्ट बुझाएको थियो । यस्तै उक्त जग्गाहरु खरिदबिक्री समेत भएको रिपोर्टमा भनिएको थियो । त्यस्तै अध्ययन टोलीले वडा नम्बर ६ स्थित औद्योगिकग्रामको लागि प्रस्तावित ११ बिगहा ११ कठ्ठा १२ धुर जग्गा समेत अतिक्रमणमा परेको जनाएको छ । उक्त क्षेत्रको जग्गा बिस्तारै स्थानीय बासिन्दाहरुबाट अतिक्रमण हुदै गएको देखिएकोले संरक्षणका लागि तत्कालै घेराबेरा गर्ने तथा वनमारा लगायतका झारपात हटाउन सुझाव दिएको थियो । अध्ययन टोलीले हाल आँप खहरे सामुदायिक वन समितिको निर्णय अनुसार सामुहिक कृषी उपज केन्द्रलाई आर्यआर्जनको लागि उपलब्ध गराएको ५ विगहा १४ कठ्ठा १ धुर जग्गा र औद्योगिकग्रामको लागि प्रस्तावित ११ बिगहा ११ कठ्ठा १२ धुर जग्गा समेत समेटी १७ विगहा ५ कठ्ठा १३ धुर जग्गा औद्योगिकग्रामको लागि छुट्याउन उपयुक्त हुने सुझाव समेत दिएको छ ।

अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि नगर प्रमुख लामाले त्यसमाथी कारवाही गर्दै अतिक्रमित जग्गा खाली गराउनका लागि अग्रसरता देखाएका छन् । नगरभित्रको सार्वजनिक जग्गाहरु अतिक्रमणमा पर्न थालेपछि नगरपालिकाले पहिलो पटक संरक्षणको प्रयास गरेको छ । अध्ययन टोलीले वडा नम्बर ६ र ७ को द्वारखोला नदी आसपास तथा वडा नम्बर ६ को औद्योगिकग्रामको जग्गाको मात्र अध्ययन प्रतिवेदन दिएपनि द्वारखोला आसपासका जग्गाहरु अझै पनि अतिक्रमण भै रहेको जनगुनासो आएपछि नगरपालिकाले वडा नम्बर ५,६,७ र ८ को द्वारखोला आसपास नदीउकास जग्गा र वडा नम्बर ६ को औद्योगिकग्रामको अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सुचना जारी गरेको हो ।