१ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

गत असोज १९ गते उदयपुरको चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका नगर प्रमुखबीच भएको दुबै पालिकालाई पायक पर्ने गरी चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बर्षेडाँडामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएपछि चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका उद्योगी, ब्यापारी, ब्यबसायीहरुमा तरंग पैदा भएको छ । उनीहरुले यस निर्णय प्रति असन्तुष्टी जनाउदै आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई भेटेर ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका साथै सहजिकरण गरिदिन माग गरेका छन् । बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनको नेतृत्वमा बेल्टार बजारका पुराना ब्यापारी, समाजसेवी, बुद्धिजीवि लगायतको टोलीले नगर प्रमुख लामालाई भेटेर ज्ञापन पत्र बुझाउदै संघले गरेको पहलकदमीमा साथ दिन आग्रह गरेका छन् ।
उदयपुरको पुर्वी भेगका जनतालाई पायक होस् भन्ने हेतुले ईलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी शाखाको कार्यालय बेल्टारमा स्थापनाका लागि यसअघि क्याबिनेट स्तरीय बैठकले समेत निर्णय गरेको स्मरण गर्दै बेल्टार बजार लगायत पुर्वी उत्तर भेगका जनतालाई सेवा सुविधाको लागि उक्त शाखा कार्यालयहरु बेल्टारमा राख्नुपर्ने तिब्र महसुस भएको ज्ञापन पत्रमा उल्लेख छ । उनीहरुले ज्ञापनपत्र बुझाउदै नगरपालिकालाई सिफारिस पत्र उपल्बध गराईदिन आग्रह गर्दै बाँकी कामका लागि आफुहरुले नै पहलकदमी लिने जनाएका छन् । तर नगर प्रमुख कालुमान लामाले यसअघि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीसंगको टेलिफोन सम्बादमा दुबै नगरपालिकालाई पायक पर्ने स्थानमा उक्त कार्यालय स्थापना गर्ने सहमति भएको जनाएका छन् । उनले चौदण्डीगढी नगरपालिकाका लागि मात्र हो भने बेल्टार बजार नगरको केन्द्र भएको र सबै खालको सेवा सुबिधा यही भएकोले बेल्टारमा स्वतः कार्यालय स्थापना हुने बताएका थिए । तर चौदण्डीगढी र बेलका नगरपालिका गरी दुबै पालिकालाई पायक पर्ने गर्ने स्थान छनौटका लागि थप छलफल हुनुपर्ने आश्य उनले ब्यक्त गरेका थिए ।
नगर प्रमुख लामाले संघीय सांसद डाक्टर नारायण खड्काले यस बिषयमा पहल गरेमा नगरपालिकाले सिफारिस दिने जनाउदै यस बिषयमा आफुले डाक्टर खड्कासंग छलफल गर्ने बताएका छन् । नगर प्रमुख कालुमान लामा बसहाका बासिन्दा भएकाले उनले नियतबस नै ईलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी शाखाको कार्यालय बसहामा लान खोजेको बेल्टार बजारबासीको आशंका छ ।


