नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता:आयोजक बसहा क्लब पराजित ।

१ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट शुरु भएको सेमिफाईनल खेलमा आयोजक बसहा क्लब पराजित भएको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको पहिलो सेमिफाईनल खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बसहा क्लबलाई ० का विरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलको १७ औं मिनेटमा बागमती युवा क्लब सर्लाहीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३१ मिनेटमा दिपेशले नै थप एक गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । पहिलो हापमा २–० ले पछि परेको आयोजक बसहा क्लबका खेलाडीहरुले दोश्रो हापमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । दोश्रो हापमा दुबै टिमले गोल गर्न नसकेपछि समग्रमा बागमती युवा क्लबले खेल २–० ले जित्दै फाईनलमा प्रबेश गरेका हो ।

आजको खेलको म्यान अफ दि म्याच बागमतीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राई घोषित भएका थिए । उनलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरले नगद ५ हजार रुपैयाँले पुरुस्कृत गरेका थिए । यस्तै प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल भोलि सप्तरीको न्यू त्रियुगा स्पोर्ट्स क्लब र उदयपुरको कटारी फुटबल क्लबबीच दिउँसो २ बजेदेखी हुने आयोजकले जानकारी दिएको छ ।