९ औं नारदमुनि स्मृति गोल्डकप : फाईनलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव र सलार्हीको वाग्मती युवा क्लबबीच भिडन्त हुने ।

२ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ९ औं नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाईनलमा जीत निकाल्दै सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको खेलमा उदयपुरको कटारी फुटबल क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको हो । न्यू त्रियुगा स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर ७ का बिदेशी खेलाडी फोफोनाले खेलको ६ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यस्तै न्यू त्रियुगा स्पोर्ट्स क्लब कै जर्सी नम्बर १० का बिदेशी खेलाडी फोफोना इब्राहिमले खेलको २७ औं र ३५औं मिनेटमा लगातार दुई गोल गर्दै टिमको अग्रता तेब्बर पारेका थिए । ३–० ले पछि परेको उदयपुरको कटारी फुटबल क्लवले खेलमा फर्कने मौका नै पाएन । दोश्रो हापको ३६ औं मिनेटमा पनि न्यू त्रियुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर ७ का फोफोनाले ब्यक्तिगत दोश्रो गोल गर्दै त्रियुगाको विजयी सुनिश्चित गरेका थिए । यो जितसंग न्यू त्रियुगा स्पोर्ट्स क्लबले खेल समग्रमा ४–० ले जित्दै फाईनलमा प्रबेश गरेको छ भने शनिवार हुने फाईनल खेलमा सलार्हीको बागमति युवा क्लबसंग भिडन्त पक्का गरेको छ ।

यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा सलार्हीको वाग्मती युवा क्लबले आयोजक बसहा क्लबलाई २–० ले पराजित गर्दै फाईनलमा प्रबेश गरेको थियो । आजको खेलको म्यान अफ फ म्याच न्यु त्रियुगा स्पोर्ट्स क्लवका क्याप्टेन समेत रहेका जर्सी नं.–१५ का कुलदिप कार्की घोषित भएका थिए । उनलाई आजको प्रमुख अतिथि तिलगंगा आँखा अस्पतालका कार्यक्रम निर्देशक तथा नारदमुनि थुलुङ स्मृति परिषदका केन्द्रिय सदस्य नवीन कुमार राईले नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।

फाईनल खेल पर्सी २ बजेदेखी सलार्हीको बागमित युवा क्लब र सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवबीच हुनेछ भने उपाधी विजेताले नगद ४ लाख १ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाण पत्र तथा उप विजेताले नगद २ लाख १ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र पुरुस्कार पाउने आयोजकले बताएको छ । प्रतियोगितामा झापाको दमक फुटवल एकेडेमी, सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति युवा क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, काठमाडौंको चित्लाङ्ग फुटवल क्लब र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहको छ।