असोज २८, सन्तोष कुमार रौनियार, बेल्टार, उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी नवौं नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० अन्तर्गत आज भएको खेलमा सप्तरीको न्यू त्रियुगा स्पोर्ट्स क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–१ गेल अन्तरले पराजित गरेको छ । वडा नं. ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग खेल मैदानमा भएको दोश्रो दिनको खेलको पहिलो हापको २०औं मिनेटमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नं. १२ का विशाल घलानले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २६औं मिनेटमा दमक फुटबल एकेडेमी झापाका जर्सी नं. ८ का किस्मत लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाप १–१ गोलको बराबरी भएको खेलको दोश्रो हापको ४ मिनेटमै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका बिदेशी खेलाडी जर्सी नम्बर ७ का फोफोनाले गोल गर्दै टिमको अग्रता २–१ बनाएका थिए । त्यसपछि खेलमा दुबै टिमबाट थप गोल नभएपछि न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरीले खेल २–१ गोल अन्तरले जित्दै सेमिफाईनलमा प्रबेश गरेको छ । आजको खेलमा म्यानअफद म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर १२ का विशाल घलान घोषित भएका थिए । उनलाई वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गाराज राईले नगद ५ हजार रुपैयाँ पुरुस्कार प्रदान गरेका थिए ।

यस्तै प्रतियोगिता अन्तर्गत भोलिको खेल चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच खेल हुने आयोजकले जानकारी दिएकोे छ । असोज २७ गतेबाट संचालन भएको प्रतियोगिताको फाईनल खेल कार्तिक ४ गते शनिवार हुनेछ । प्रतियोगितामा झापाको दमक फुटवल एकेडेमी , सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति स्पोर्टस क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, अफ्रिकन खेलाडी सम्मिलित एविनियर फुटवल क्लब काठमाडौं र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहको छ। आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले चार लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा उप विजेताले दुई लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाईएको छ ।
