नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी शुरु भएको प्रतियोगितामा आयोजक बसहा क्लबले विजयी सुरुवात गरेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा स्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक बसहा क्लबले सुनसरीको एभरेष्ट क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाप गोल रहित बराबरी रहेको खेलको दोश्रो हापको ५ औं मिनेटमा बसहाका खेलाडीले गरेको प्रहार एभरेष्ट क्लब सुनसरीका जर्सी नम्बर ४ का खेलाडी योगेश राईको खुट्टामा लागेर आत्मघाती गोल भएपछि आयोजक बसहा क्लबले शुरुवाती अग्रता लिएको थियो । यस्तै खेलको दोश्रो हापको १९ औं मिनेटमा बसहाका जर्सी नम्बर २३ का खेलाडी जसबहादुर राईले सुन्दर गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । २–० ले पछि परेको एभरेष्ट क्लबका खेलाडीहरुले त्यसपछि आक्रमक खेल प्रदर्शन गरेका थिए ।

खेलको दोश्रो हापको २६ औं मिनेटमा आयोजक बसहाका गोल रक्षक अगाडी बढेको मौकाको सदुपयोग गर्दै एभरेष्ट क्लबका क्याप्टेन जर्सी नम्बर १० का खेलाडी निशन लिम्बुले एक गोल फर्काएका थिए । त्यसपछि पनि एभरेष्ट क्लबका खेलाडीहरुले खेलमा फर्कने प्रयासमा आयोजक बसहाको पोष्टमा प्रहार गरेपनि निर्धारित समयमा थप गोल गर्न सकेनन् । समग्रमा आयोजक बसहाले आजको खेल २–१ गोल अन्तरले जित्दै दोश्रो चरणमा प्रबेश गरेको छ । आजको खेलको म्यान अफ दि म्याच बसहाका जर्सी नम्बर २३ का खेलाडी जसबहादुर राई घोषित भएका थिए । उनलाई आयोजकको तर्फबाट बसहा क्लबका अध्यक्ष गौतम राईले नगद ५ हजार रुपैयाँ पुरुस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल न्यु त्रियुगा स्पोर्टस क्लब सप्तरी र दमक फुटवल एकेडेमी झापाविच दिउँसो ३ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा झापाको दमक फुटवल एकेडेमी , सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति स्पोर्टस क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, अफ्रिकन खेलाडी सम्मिलित एविनियर फुटवल क्लब काठमाडौं र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहको छ। आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले चार लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा उप विजेताले दुई लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाईएको छ ।
