उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहामा संचालन भएको राँगाकप फुटबल प्रतियोगिताको उपाधि चरण चोकस्थित हङ्शकाली फुटबल टिमले जितेको छ । जनउद्धार युवा क्लव बसाहाको आयोजनामा बसाहास्थित मेजर चौतारा खेल मैदानमा हिजो भएको फाइनल खेलमा बसाहाथान फुटबल टिमलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै हङ्शकाली फुटबल टिमले उपाधी चुमेको हो ।

आज भएको फाईनल खेल एक पक्षीय भएको थियो । पहिलो हापमै आयोजक हङ्शकालीले बिपक्षी बसाहाथानलाई ४–० को फराकिलो गोल अन्तरले पछि पारेको थियो । पहिलो हापमा हङ्शकालीका तर्फबाट जर्सी नं. १६ का खेलाडी अरुण राईले लगातार २ गोल र जर्सी नं. ११ का खेलाडी रितेश तामाङ तथा जर्सी नं. २ का खेलाडी सरोज भुजेलले १÷१ गोल गरेका थिए । पहिलो हापमा ४–० ले पछि परेको बसाहाथानले दोश्रो हापमा पनि सुधारिएको खेल प्रदर्शन गर्न सकेन । दोश्रो हापमा हङ्शकालीका तर्फबाट जर्सी नं. २ का खेलाडी सरोज भुजेलले थप एक गोल गर्दै टिमको बिजयी सुनिश्चित गरेका थिए । ५–० ले पराजित भएको बसाहाथान फुटवल टिम उप विजेतामै चित्त बुझाउन बाध्य भएको छ । उपाधीसंगै हङ्शकाली फुटबल टिमले राँगा पुरुस्कार पाएको छ भने उपविजेता बसहाथानले बाख्रा पुरुस्कार पाएको प्रतियोगिताका संयोजक नवीन सुप्तिहाङ राईले जानकारी दिएका छन् ।

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, लागू औषध विरुद्धको लागि खेलकुद“ भन्ने नाराका साथ आयोजना गरिएकोे प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि तथा वडा नं.४ का वडा अध्यक्ष लुङ्गराज राई, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर र जिल्ला खेलकुद समितिका सदस्य शेखर राई लगायतले पुरुस्कार प्रदान गरेका थिए । असोज ६ गते शुरु भएको प्रतियोगितामा आयोजकसहित जम्मा १४ टिमको सहभागिता रहेको थियो ।


सम्पादक: यसअघि हङ्शकाली फुटबल टिमलाई आयोजक टिम भनिएकोमा सच्याइएको छ ।
