प्रतिवन्धित लागुऔषध बेचबिखिन गरेको आरोपमा पक्राउ परेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का गोपीकृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झा ५० हजार धरौटीमा रिहा भएका छन् । हिजो ईलाका प्रहरी कार्यालय बेल्टारले पत्रकार सम्मेलन गरेर झालाई औषधी ब्यबस्था बिभागमा बुझाएकोमा उनलाई हिजो नै ५० हजार धरौटीमा छोड्ने निर्णय भएको हो । असोज १४ गतेको लागि उनको पेशी तोकिएको छ । त्यसपछि थप कारवाही अगाडी बढ्ने जनाएको छ ।
यसअघि ईलाका प्रहरी कार्यालय बेल्टारले हिजो पत्रकार सम्मेलनको आयोजना गरी झालाई बरामद लागुऔषध सहित सार्वजनिक गरेको थियो । असोज २ गते अवैधरुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ५० वर्षीय झालाई ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको थियो । झाको मदन चौकस्थित घरबाट नगर स्वास्थ्य शाखा, नगर प्रहरीसहित प्रहरी निररिक्षक ओम प्रकाश पुनको नेतृत्वमा गएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा प्रतिबन्द्धित लागुऔषधहरु ट्रामाडोल १० बट्टामा ३ सय २ पत्तागरी कूल ३ हजार २० ट्यावलेट, स्पार्सपेन ४ बट्टामा २ सय १६ पत्तागरी कूल २ हजार १ सय ६० ट्याबलेट र ओपिडोल १५ बट्टामा २ सय १० पत्तागरी कूल २ हजार १ सय ट्याबलेट बरामद गरेको थियो । कारवाहीका लागि झालाई औषधी ब्यबस्था विभाग विराटनगरको जिम्मा लगाईएको थियो ।

हिजो प्रहरीले गरेको पत्रकार सम्मेलनमा लागुऔषधका कारण पिडित अभिभावकहरुले झालाई कडा कारवाही हुनुपर्ने माग राखेका थिए । पटक पटक पक्राउ परेता पनि पहुँचका कारण सजिलै झाले उन्मुक्ती पाईरहेको बताउदै उनीहरुले लामो समयदेखी झाले लागुऔषधको कारोवार गर्ने गरेको जनाउदै उनको कारणले धेरै वालवालिकाहरु दुरब्यसनीको शिकार भैरहेकोले झालाई हदैसम्मको कारवाही हुनपर्ने माग गरेका थिए । पिडित अभिभावकसहितको टोलीले यसअघि पनि ईलाका प्रहरी कार्यालय बेल्टार, नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुरमा झालाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
