नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार ।

नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार भएको छ । वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकमा ९५ औं शाखाको रुपमा आज बैंकको सफ्ट लन्च गरिएको बैंकका प्रबन्धक बिनय ढुंगेलले बताएका छन् । आजबाट बैंकमा सेवाग्राहीको खाता खोल्ने लगायतको कार्य शुरु भएको छ। बैंकले भारतीय भुपु सैनिकहरुको पेन्शन वितरण लगायत सबै सेवा सुचारु गर्ने ढुंगेलले बताएका छन् । आजबाट अनौपचारिक रुपमा बैंकले सेवा शुरु गरेपनि दशै तिहारपछि मात्रै बैंकको औपचारिकरुपले उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका प्रबन्धक ढुंगेलको भनाई छ ।

स्थानीय भुतपूर्व भारतीय सैनिकहरुको बिशेष पहल र वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतको साथ सहयोगमा बैंकको शाखा बेल्टार बजारमा ल्याउन सफल भएको पुर्वाञ्चल भारतीय भुपु सैनिक कल्याणकारी परिषद नेपाल उदयपुरका अध्यक्ष मविराज राईले जानकारी दिएका छन् । यसअघि पेन्शनको पैसा लिन धरान पुग्नुपर्ने बाध्यता रहेकोमा बेल्टारमा नै बैंक संचालन भएपछि त्यो बाध्यता हटेको र यस भेगका लगभग एक हजार पेन्शन प्राप्त गर्ने भुपु भारतीय सैनिकका परिवार लाभावभित हुने राईले बताएका छन् । बेल्टारमा बैंकको शाखा खुल्नाले उदयपुरसहित खोटाङ्ग, भोजपुर र सप्तरी जिल्लाका भुपु भारतीय सैनिकका परिवारलाई पनि पायक पर्ने बताउदै राईले उनीहरुले सहजरुपमा पैसा निकाल्न सक्ने भएकोले समय र पैसाको वचत हुने बताएका छन् । बेल्टार बजारमा एसविआई बैंको शाखा बिस्तार भएसंगै क श्रेणीको बैंकको संख्या ४ पुगेको छ । यसअघिबाट नै बाणिज्य बैंक, कृषी विकास बैंक र सिद्धार्थ बैंक संचालनमा रहेको छ ।