प्रतिवन्धित लागुऔषध बेचबिखिन गरेको आरोपमा पक्राउ परेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का गोपीकृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झालाई ईलाका प्रहरी कार्यालय बेल्टारले आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । असोज २ गते अवैधरुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेका ५० वर्षीय झाको स्वास्थ्यमा समस्या आएपछि परिवारको जिम्मामा उपचारको लागि विराटनगर पठाइएको थियो । पक्राउपछि नगरअस्पताल बेल्टारमा स्वास्थ्य जाँच गराउँदा रक्तचाँप र मुटुमा समस्या देखिएपछि झालाई परिवारको जिम्मामा उपचारका लागि विराटनगर पठाइएको थियो । उनको आर्या न्युरो हस्पिटल र विराटनगर मोडल अस्पताल विराटनगरमा उपचार गरिएको बताइएको छ ।

उपचारपछि हिजो बेल्टार ल्याइएको झालाई आज ईलाका प्रहरी कार्यालय बेल्टारले बरामद २ कार्टुन लागुऔषधसहित सार्वजनिक गरेको छ । झाको मदन चौकस्थित घरबाट नगर स्वास्थ्य शाखा, नगर प्रहरीसहित प्रहरी निररिक्षक ओम प्रकाश पुनको नेतृत्वमा गएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा प्रतिबन्द्धित लागुऔषधहरु ट्रामाडोल १० बट्टामा ३ सय २ पत्तागरी कूल ३ हजार २० ट्यावलेट, स्पार्सपेन ४ बट्टामा २ सय १६ पत्तागरी कूल २ हजार १ सय ६० ट्याबलेट र ओपिडोल १५ बट्टामा २ सय १० पत्तागरी कूल २ हजार १ सय ट्याबलेट बरामद गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश पुनले थप कारवाहीका लागि झालाई औषधी ब्यबस्था विभाग विराटनगरको जिम्मा लगाईने बताएका छन् । उनलाई आज नै विराटनगर लगिएको छ ।

एता पत्रकार सम्मेलनमा लागुऔषधका कारण पिडित अभिभावकहरुले झालाई कडा कारवाही हुनुपर्ने माग राखेका थिए । पटक पटक पक्राउ परेता पनि पहुँचका कारण सजिलै झाले उन्मुक्ती पाईरहेको बताउदै उनीहरुले लामो समयदेखी झाले लागुऔषककोकारोवार गर्ने गरेको जनाउदै उनको कारणले धेरै वालवालिकाहरु दुरब्यसनीको शिकार भैरहेकोले झालाई हदैसम्मको कारवाही हुनपर्ने माग गरेका छन् । पिडित अभिभावकसहितको टोलीले यसअघि ईलाका प्रहरी कार्यालय बेल्टार, नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुरमा झालाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।



