उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जनताले आफ्नो प्रतिनीधिहरुलाई प्रश्न सोध्नुपर्ने बताएका छन्। आज वडा नम्बर ८ सिद्धिपुरस्थित एक खानेपानी योजनाको उद्घाटन गर्दै मेयर लामाले बिकास निमार्णका बिषयमा आफ्नो जनप्रतिनीधिहरुलाई प्रश्न सोध्नुपर्ने बताएका हुन् । उनले स्थानीय तह, प्रदेश, संघमा निर्वाचित भएर जनप्रतिनिधीहरु गएको, तर बिकास निमार्ण आशा अनुरुप नभएको भन्दै जनप्रतिनीधिहरुलाई सम्मान मात्र होईन प्रश्न पनि राख्नुपर्ने बताएका छन् । कस्तो किसिमको योजना कुन तहको सरकारले निमार्ण गर्ने हो त्यस्को जानकारी जनताले राखेर आफ्ना प्रतिनीधिहरुलाई आफ्नो क्षेत्रमा बिकास निमार्ण किन हुन सकेन भनेर आबाज उठाउनुपर्ने मेयर लामाको भनाई थियो ।

यसअघि आज मेयर लामाले नगरपालिकाको सहयोगमा निमार्ण सम्पन्न भएको केही बर्षदेखी अलपत्र रहेको वडा नम्बर ८ को राजधारा, होगोमा, सिद्धिपुर लिफ्ट सिस्टम क्रमागत खानेपानी योजनाको उद्घाटन गरेका थिए । संघ सरकारको बजेटमा आर्थिक बर्ष २०७६/७७ मा निमार्ण शुरु भएको आयोजनामा लगातार संघले दुई बर्ष रकम पठाए पनि काम सम्पन्न नभएपछि आर्थिक बर्ष २०७८/७९ देखी बजेट रोकेको थियो । संघले बजेट नहालेपछि अलपत्र रहेको योजनामा नगरपालिकाले २० लाख रुपैयाँ लगानी गरेपछि योजना सम्पन्न भएको हो । यसअघि सगरमाथा राउत जेभीले एक करोड ९ लाख रुपैयाँमा ठेक्का लिएर काम गरिरहेकोमा ६३ लाख बराबरको काम गरेर पनि समयमै योजना नसकेपछि संघ सरकारले बजेट नै रोकेको थियो । जेभीले ६०–६० हजार लिटरको ३ वटा ट्यांकी, एक वटा ईनटेक ट्यांकीको निमार्ण तथा बिद्युतको काम गरेको थियो । अलपत्र परेको योजनाको नगरपालिकाले स्थानीय ठेकेदार कम्पनी शिवशक्ती निमार्ण सेवालाई २० लाख रुपैयाँमा ठेक्का दिएर सम्पन्न गराएको हो । निमार्ण सेवाले होगोगोमास्थित मुहानबाट सिद्धिपुरस्थित ट्यांकीसम्म मुल पाईप बिस्तार, ट्यांकीबाट उपभोक्ताको घरसम्मको १६ सय मिटर पाईप लाईन बिस्तार तथा मोटर जडान लगायतको काम गरेको नगरपालिकाका ईन्जिनियर जयनेन्द्र झाले बताएका छन् । गाँउमा पानी पुगेपछि स्थानीय हर्षित भएका छन् भने उनीहरुले गाँउको अन्य टोलहरुमा पनि पाईप लाईन बिस्तारमा सहयोगका लागि नगरपालिकासंग आग्रह गरेका छन् । सिद्धिपुरमा पानी पुगेपछि करिव ५६ घरपरिवार लावान्भित भएका छन् ।

