बेल्टार बजारमा खानेपानीको पाईप लाईन बिस्तार ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार स्थित श्री पञ्चमी खानेपानी उपभोक्ता समितिले बेल्टार बजारको खानेपानीको अभाव रहेको क्षेत्रमा नयाँ खानेपानीको पाईप लाईन बिस्तार गरेको छ । आज बिस्तार गरिएको पाईप लाईनबाट वडा नम्बर ६ स्थित चाम्लिङ्ग चोकमा खानेपानीको ट्ंयाङ्गकीबाट पानी छोडेर पाईप लाईनको परिक्षण गरिएको थियो । समितिले वडा नम्बर ७ स्थित श्री पञ्चमीमा निमार्ण गरिएको सम्पवेलबाट बिद्युतको माध्यमबाट डिप बोरिङ्ग गरी निकालेको पानी १७ सय मिटर टाढा रहेको खानेपानीको कार्यालयमा अबस्थित ३ लाख लिटर क्षमताको ट्यांङकीमा ल्याएर त्यहाँबाट थप १५ सय मिटर पाईप लाईन बिस्तार गरी चाम्लिङ्ग चोकसम्म ल्याएको हो । यस पाईप लाईनको बिस्तारपछि चाम्लिङ्ग चोक, समाबेशी लाईन, बजार लाईन, पुष्पलाल चोक, खत्री टोल लगायतको क्षेत्रमा खानेपानी पुर्याउने लक्षय लिएको समितिका अध्यक्ष केशव राईले जानकारी दिएका छन् । उनले यस कार्यले ७ सय घर परिवारसम्म खानेपानीको सुबिधा पुग्ने बताएका छन् ।


केही महिनाअघि मात्र निर्वाचित भएर आएको समितिका पदाधिकारीहरुले उपभोक्ताहरुको सहकार्यमा छोटो समयमै नयाँ सम्पवेलको संचालन र पाईप लाईन बिस्तारको कार्य गरेको हो । पाईप लाईन बिस्तारलागि स्थानीय उपभोक्ताहरुकालाई श्रमदानका लागि समितिले आबहान गरेको थियो भने आफ्नो क्षेत्रमा खानेपानी सहजरुपमा आउने आशमा सम्बन्धित क्षेत्रका उपभोक्ताहरुले पनि उत्साहजनकरुपमा पाईप लाईन बिस्तारमा श्रमदानमा जुटेका थिए ।
एता श्री पञ्चमी खानेपानी उपभोक्ता समितिले खानेपानीको पाईपलाईन बिस्तार गरिरहदा नगरकै सबैभन्दा पुरानो गाविसको धारा भने बन्द हुने अबस्थामा पुगेको छ ।बिक्रम सम्बत २०३७ सालमा युनिसेफ नेपालको सहयोगमा बेल्टार बजार वरिपरिका क्षेत्रका बासिन्दाहरुका लागि निमार्ण गरिएको गाविसको धारा जिर्ण अबस्थामा पुगेको छ । त्यसमाथी श्रावण १ गते मात्र नगरपालिकाले आन्तरिक आय बढ्न नसकेको कारण देखाउदै बर्षौदेखी खानेपानीमा कार्यरत पानीपालेहरुको करार अबधी नथप्ने निर्णय गरेपछि अलि अलि चलिरहेको खानेपानीको धारा पनि बन्द भएको छ । नगरपालिकाले पानीपाले दिल बहादुर मगर, खड्क बहादुर राई र जय बहादुर राईको करार अबधी नथप्ने निर्णय गरेको थियो । यसअघि उनीहरुलाई नगरपालिकाले तलव खुवाईरहेको थियो । नगरपालिकाको यो निर्णयसंगै गाविसको धाराबाट पानी बितरणको काम रोकिएको छ । यद्यपी गाविसको धारा संचालनका लागि खानेपानी उपभोक्ता समिति रहेता पनि समितिले आर्थिक अभावमा केही काम गर्न सकेको छैन भने समितिको आर्थिक हिसाव किताव समेत पारदर्शी छैन। केही महिना अगाडी वडा नम्बर ७ ले मधुकला राईको नेतृत्वमा समिति गठन गरेको थियो । तर यस समितिलाई अघिल्लो मनकुमार राई नेतृत्वको खानेपानी उपभोक्ता समितिले बरबुझारथ नगरेको जनाईएको छ । गाबिसको खानेपानीको १०० भन्दा बढी घरपरिवार उपभोक्ता रहेको बताइएको छ । गाविसको धाराबाट वडा नम्बर १ को बिर्ता, वडा नम्बर ८ को धप्प्र, वडा नम्बर ७ को धप्पर र बेल्टार तथा वडा नम्बर ६ को बेल्टार बजारका उपभोक्ताहरुले खानेपानीको सुबिधा लिरहेका थिए ।