चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानीस्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिका देवि दुलाल र वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले संयुक्तरुपमा गरेका छन् । नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य भवन उद्घाटन गर्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नारापालिकाले सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुच होस भन्ने उद्देश्यले नगरका सबै वडाहरुमा स्वास्थ्य सेवा दिने गरी काम भईहेको बताएका छन् । मेयर लामाले नगरको मुख्य केन्द्र बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गरेर एमडी डाक्टरको सेवा उपलब्ध गराउने योजना सहित नगरपालिकाले कार्य सुरु गरेको जानकारी दिएका छन् । यस्तै कार्यक्रममा बोल्दै उपमेयर मणिकादेवी दुलालले सिमित बजेट, सिमित श्रोत साधन भएको नगरपालिकामा विकास निर्माणका माग र चाहना अत्याधिक भएकोले पनि माग अनुसारको काम नभएको जिकिर गर्दै नगरको बजेट अनुसारको जनताको काम आफुहरुले गर्दै आएको दावी गरेकी छिन् ।

वडा नम्बर ६ सिर्वानी मा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रकालागि तीन कठ्ठा जग्गा स्थानीय समाजसेवी सुर्यबहादुर बस्नेत तथा वहाँकी धर्मपत्नी मनमाया बस्नेतले निशुल्क दान दिएका थिए । भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य केन्द्रलाई जग्गा दान दिने बस्नेत दम्पतिलाई नगर प्रमुख र उपप्रमुखले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सिवार्नीमा रहेको आधारभुत स्वास्थ्य केन्द्रले सिवार्नी, केचुवाही, बेल्हा लगायतका बासिन्दालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

