पशु ब्यबसायीले अबैध कब्जा गरेको सार्वजनिक जमीन वडाले खाली गराउने ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले पशु ब्यबसायीले अबैध कब्जा गरेको सार्वजनिक जमीन खाली गराउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको निरन्तरको दवावमा वडाले अबैध कब्जामा रहेको सार्वजनिक जग्गा खाली गराउने भएको हो । मदन भण्डारी लोकमार्गसंगै जोडिएको वडा नम्बर ७ भुल्के डुडपानीस्थित सार्वजनिक जग्गा अनाधिकृतरुपमा कब्जागरी पशु ब्यबसाय गरिरहेका ब्यक्तिलाई वडा अध्यक्ष केशव अधिकारी, स्थानीय प्रहरीको उपस्थितीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले हिजो जग्गा खाली गर्न चेतावनी दिएका थिए ।

यस अघि पनि पटक पटक अनुरोध गरेको बताउदै रास्वपाका वडा नम्बर ७ का वडा सभापति पवन पौडेलले स्थानीयले जर्गेना गरेको वरपिपल र खानेपानीको मुहान रहेको क्षेत्रमा विगत ५–६ बर्षदेखी अनाधिकृत रुपमा जग्गा कब्जा गरी पशु ब्यबसाय गरिरहेका सप्तरीको अग्नीसाईर कृष्णसरावण गाँउपालिका महुली बजारका मन्जुर मियाँको परिवारले दिसापिसावगरी सो क्षेत्र दुर्गन्धित बनाएको तथा अपरिचित ब्यक्तिहरुको आवतजावतले असुरक्षा बढेको हुनाले उनीहरुलाई त्यहाँबाट हटाउनुपर्ने बताएका छन् ।उनले गत जेठ १४ गते वडा अध्यक्ष अधिकारीलाई पनि यस बिषयमा जानकारी गराउँदै ब्यापारीलाई त्यहाँबाट हटाउन माग गरेको जनाएका छन् ।

मियाँले शुरुमा भैसी बेचबेखिनका लागि ल्याएर बाँध्ने र केही दिनपछि लिएर जाने गरेकोमा पछि बासको टहरा बनाएरै परिवारसहित बस्ने थालेका थिए । वडा अध्यक्ष अधिकारीले हिजो टेलिफोनमा मियाँसंग कुराकानी गर्दै सो क्षेत्र खाली गर्न चेतावनी दिएपछि मियाँको माग अनुसार श्रावण १५ गतेसम्ममा जग्गा खाली गर्नको लागि समय दिएका छन् । श्रावण १५ गतेसम्ममा जग्गा खाली नगरे स्थानीय प्रशासन लगाएरै भएपनि खाली गराउने वडा अध्यक्ष अधिकारीले बताएका छन् ।