बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ मंलवारदेखि शुरु भएको ट्राफिक सप्ताह अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । आज ट्राफिक हवलदार शंकर लामिछानेको नेतृत्वमा नगरको ब्यापारिक केन्द्र बेल्टार बजारको मुख्य चौकहरु तथा बिद्यालयका बिद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सचेतना कार्यक्रम गरिएको छ । ट्राफिक हवलदार लामिछानेले पैदलयात्रीलाई बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा अवगत गराएका थिए भने सवारी चालक , सहचालकलाई सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगर्न , सवारीको विमा अनिवार्य गराउन, कागजपत्रको नविकरण समयमै गर्न, सवारीसंग सम्बन्धित कागजपत्र अनिवार्य आफैसंग राख्न, यस्तै सवारी नियमको पालना गर्न लगायतका बारेमा जानकारी गराएका थिए । यस्तै उनले बेल्टार बजारस्थित सगरमाथा बोडिङ्ग स्कुल बेल्टारका बिद्यार्थीहरुलाई समेत ट्राफिक नियमका बारेमा जानकारी गराएका थिए ।
कोशी प्रदेशको १४ वटै जिल्लामा असार १९ गतेदेखी २५ गतेसम्म संचालन हुने ट्राफिक सप्ताह नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुन्सरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा संचालन भएको हो ।

