मानवीय सेवामा सक्रिय परोपकारी स्वंमसेवी संस्था नेपाल स्काउटले उदयपुरको चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश गरेको छ । वडा नम्बर ६ बेल्टार बजारस्थित ज्योती माध्यमिक बिद्यालयका ३२ जना बिद्यार्थीहरुलाई दुई दिने स्काउट अभिमुखीकरण प्रदान गर्दै नगरमा स्काउटलाई बिस्तार गरिएको छ । अभिमुखीकरण कार्यक्रममा बिद्यालयका कक्षा ७, ८र ९ का १६ जना छात्र र १६ जना छात्रागरी ३२ जना बिद्यार्थी सहभागी भएका थिए । हिजो भएको समापन कार्यक्रममा दिक्षित भएका बिद्यार्थीहरुलाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा , उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, ज्याती माबि बेल्टारका प्रधानाध्यापक राजकुमार ओझा लगायतले स्काउटको लोगो तथा स्कार्फ लगाईदिएका थिए । पालिकामा मेयर संरक्षक र उपमेयर प्रमुख स्काउट हुने प्राबधान रहेको छ ।

कोशी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको सबै बिद्यालयमा स्काउटिङ्ग कार्यक्रमलाई बिस्तार गर्ने कार्यक्रम अन्तर्गत उदयपुर जिल्लामा ज्योती माबि बेल्टार र त्रियुगा नगरपालिकाको वडा नम्बर १० बोक्सेस्थित बालमन्दिर मावी गरी दुईवटा बिद्यालय छनौटमा परेको चौदण्डीगढी नगरपालिकाकामा स्काउट सदस्यता बृद्धी संयोजक सन्तोष बस्नेतले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई नेपाल स्काउटको मुल्य मान्यताबारे जानकारी गराउदै स्वआत्म अनुशासन, स्वअनुसाशन, सामाजिक ब्यबहार, नैतिक आचरण बृद्धी , परोपकारी र मानवीय क्षेत्रमा निस्वार्थ भावले काम गर्न अभिप्रेरित गरिएको बस्नेतले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवंम नगर स्काउटका संरक्षक कालुमान लामाले समाजमा मानवीयता हराउदै गैरहेको बताउदै स्काउटमा दिक्षित हुनेहरुलाई परोपकारी कार्यमा संलगन हुन आग्रह गरेका थिए । उनले स्काउटलाई नगरको साथ सहयोग रहिरहने बताउदै स्काउट प्रेरणाको श्रोत बन्नुपर्ने बताएका थिए ।
