बेलका नगरपालिकामा एक होटलमा चट्याङ परी आगलागी हुँदा २६ लाख बराबरको क्षति ।

बेलका नगरपालिकाको वडा नम्बर ५ काफ्लेटोल भुतिया दह जाने बाटोमा रहेको एक होटलमा चट्याङ परी आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ । हिजो बिहान अन्दाजी साढे ३ बजे टेक बहादुर थापाको होटलमा अविरल पानीसँगै परेको चट्याङबाट आगलागी हुँदा उक्त क्षति भएको हो । पारिवारिक स्रोतका अनुसार होटलमा रहेको फ्रीजमा चट्याङ परी आगलागी हुँदा फ्रीज, ल्यापटप, पलङ, टेबल, कुर्सी, खाद्यान्न लगायत अन्य सर–सामान जलेर पूर्ण रुपमा नष्ट भएको छ । यसरी नै आगलागीबाट होटलको भित्ता, सिसाको झ्याल र छानामा समेत क्षति पुगेको छ ।
वडा प्रतिनिधि र प्रहरी समेतको उपस्थितिमा घटनास्थलको अनुगमन गर्दा २६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष दिपकराज रेग्मीले जानकारी दिएका छन् । होटल मालिक थापाका अनुसार स्थानीय पर्यटकीय स्थल भुतिया दह जाने बाटोमा आन्तरिक पर्यटकलाई लक्षित गरी २ बर्ष अघि निर्माण भएको होटल हन्टिङमा चट्याङ पर्दा ठुलो क्षति भएको बताएको हाम्रा सहकर्मी महेन्द्र राईले जानकारी दिएका छन् ।