चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा जारी एक घर एक स्वयमसेविका कार्यक्रम अन्तर्गतको ३ दिने तालिम आज सम्पन्न भएको छ । आधारभुत स्वास्थ्य केन्द्र सिर्वानीद्रारा आयोजित तालिमको समापन गर्दै आज नगर प्रमुख कालुमान लामाले सहभागी सबैलाई प्रेसर जाच गर्ने विपि सेट तथा थर्मामिटर प्रदान गरेका थिए । वडाका महिलाहरुलाई सामान्य स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरी ज्वरो, प्रेसर लगायतका सामान्य रोगहरुको बारेमा पहिचान गर्न सहज होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा सदस्य कमल कार्कीले बताएका छन् । वडाको सहयोगमा वडाका २२ जना महिलाहरुलाई आधारभुत स्वास्थय केन्द्र सिवार्नीले जेठ ३२ गतेबाट ३ दिन तालिम दिएको थियो । सहभागी स्वंमसेवीहरुलाई नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्रीकान्त चौधरी र नगर अस्पताल बेल्टारका सिनियर एचए तेजबहादुर पोखरेलले तालिम प्रदान गरेका थिए ।
पुर्व वडा अध्यक्ष कमलध्वज राईले शुरु गरेको प्रत्येक घरमा प्रारम्भिक स्वास्थ्यसेवी उत्पादन गर्ने एक घर एक स्वयमसेविका कार्यक्रमलाई बर्तमान वडा अध्यक्ष अम्बर बहादुर खड्काले पनि निरन्तरता दिएका हुन् । तालिमबाट स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान प्राप्त गरेको बताउदै सहभागीहरुले घरपरिवारका सदस्यहरुमा देखिन सक्ने ज्वरो, प्रेसरको जाँच गर्न सक्षम भएको बताएका छन् ।



