आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको अध्यक्षमा मनकुमार राई चयन ।

नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिले नयाँ नेतृत्व पाएको छ । आज भएको नयाँ कार्य समितिको चुनावबाट समितिको नगर अध्यक्षमा मनकुमार राई निर्वाचित भएका छन् । राईले अध्यक्षका अर्का प्रतिस्पर्धी डिल्ली मगरलाई पराजित गर्दै बिजयी भएका हुन् । ९ वटा जातीय संगठनहरुको आबद्धता रहेको समितिका ९ मध्ये ८ जना प्रतिनिधीहरुले राईको पक्षमा मतदान गरेका थिए । नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको गत असार ७ गते भएको तेश्रो अबिधेशनले अध्यक्षका प्रतिस्पर्धीहरुबिच सहमति गराउन नसक्दा प्रमुख अतिथी तथा नेपाल आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला अध्यक्ष डिवी गुरुङ्गको नेतृत्वमा मेनुका रानामगर र भुपेन्द्र राईसहितको ३ सदस्य निर्वाचन मण्डल गठन गरेको थियो । निर्वाचन मण्डलले सहमतिका लागि एक हप्ताको समय दिएकोमा सहमति हुन नसक्दा आज निर्वाचन भएको हो ।

अध्यक्षबाहेकका पदमा भने यसअघि नै सहमति भै सकेको थियो । अबिधेशनले उपाध्यक्षमा निरज घिसिङ्ग, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा जसता माझीलाई चयन गरेको छ । यस्तै सदस्यमा डिल्ली मगर, प्रेम बहादुर भुजेल, दिवा शेर्पा, मनोज दनुवार र अछालाल चौधरी चयन भएका छन् । बिजयी उम्मेदवारलाई नेपाल आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला अध्यक्ष डिवी गुरुङ्गले सपथ गराएका थिए । नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिमा किराँत राई यायोख्या, नेपाल मगर संघ, माझी संघ, नेपाल शेर्पा संघ, नेवा देयु दवु, भुजेल संघ, दनुवार संघ र थारु कल्याणकारी संघ गरी ९ वटा जातिय संगठन आबद्ध रहेका छन् ।