चौदण्डिगढी नगरपालिकाद्वारा एक बर्ष अबधीको समिक्षा तथा प्रगति विवरण सार्वजनिक ।

चौदण्डिगढी नगरपालिकालेमा स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनीधहरुको एक बर्ष अबधीको समिक्षा तथा प्रगति विवरण सार्वजनिक गरेको छ । गत बर्ष बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट चौदण्डिगढी नगरपालिकामा मेयरमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल लगायत १० मध्ये ८ वटा वडामा वडा अध्यक्षसहित एमाले उम्मेदवारहरु दुई तिहाई स्थानमा विजयी भएका थिए । गत बर्ष जेठ ११ गते जननिर्वाचित जनप्रतिनीधिहरुले सपथ लिर्दैै पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको एक बर्ष पुगेको अवसरमा आज नगरपालिकाको सभाहल बेलटारमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता प्रकाश राउतले नगरपालिकाले एक बर्षमा गरेका मुख्य मुख्य उपलब्धीको बिषयमा जानकारी गराएका छन् । नगरपालिकाले नगरको तर्फबाट १३ करोड ४२ लाख रुपैयाँ बिकासमा खर्च भएको जनाएको छ । यस्तै संघिय सरकारबाट विनयोजित ७ करोड १६ लाख र प्रदेश सरकारबाट विनयोजित १ करोड १६ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । नगरपालिकाले स्थानीय स्तरमा आफ्नो बजेट तथा कार्यक्रममार्फत कृषि, शिक्षा र बजार व्यवस्थापनमा कार्य गरेको जनाएको छ । यस्तै आफुहरु निर्वाचित हुनुभन्दा अघिल्लो कार्यकालका जनप्रतिनीधिहरुले भुक्तानी गर्न नसकेका योजनाहरुको ३ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको बताएको छ । त्यस्तै आन्तरिक राजस्वमार्फत उठेको ९५ लाख रकमबाट शिक्षा र स्वास्थ्य तथा अति विपन्न परिवारको आर्थिक सहयोगमा खर्च गरेको जनाएको छ ।

यस्तै प्रवक्त राउतले नगरपालिकाले एक बर्ष भित्र नगरका बिभिन्न वडाहरुमा पुर्व प्रतिबद्धता अनुरुप एक वडा एक ट्रस पुल अवधारणा अनुसार ९ वटा ट्रष्टब्रिज निमार्ण , ७ वटा मोटोरेवल पुल निमार्ण , ७ हजार ८ सय मिटर सडक कालोपत्रे, १३ किलोमिटर नयाँ सडक ट्रयाक खोल्ने कार्य गरेको जनाएका छन् । यस्तै नगरको प्रोफाइल तयारी, सडक यातायातको गुरु योजना तयारी, पंचबर्षिय आवधिक योजना तयारी, चौदण्डीगढी दरबारको डिपिआर निमार्ण, नगरको बजार क्षेत्रहरुमा १२ वटा टावर लाइट जडान सहित नगर भरी विद्युतका काठेपुल हटाउन सुरु गरिएकोे जानकारी दिएका छन् । नगरपालिकाले ६ वटा सिचाई आयोजना, ९ वटा डिपबोरिङ, २२ किलोमिटर सडक ग्राभेल, एउटा स्वास्थ्य चौकी भवन निर्माण, १० वटा खानेपानी आयोजना निमार्ण सम्पन्न गरेको बताएको छ । त्यसैगरी ४ वटा विद्यालय भवन निर्माण, नगरका बजारक्षेत्रमा इन्टरलक इटा राख्ने कामको शुरुवात , कृषि बजार व्यवस्थापन, बजार क्षेत्रका अनाधिकृत संरचना हटाइएको जनाएको छ । यस्तै एक बर्षमा नगरका तीन स्थानमा तटबन्ध निर्माण, नगर भित्रका २ हजार २ सय ३५ जनाको आँखाको निशुल्क परिक्षण तथा २२५ जनाको निःशुल्क आँखाको अप्रेशन, नगरका दुई क्याम्पसमा पूर्णकालिन क्याम्पस प्रमुखको व्यवस्थापन गरिएको राउतले जानकारी दिएका छन् । त्यस्तै नगरपालिकाले मृगौला प्रत्यारोपण, डाइलासिस, क्यान्सर र मेरुदण्डको पक्षघातका विरामीलाई मासिक ५ हजारका दरले ६४ जनालाई विरामीको खातामा औषधि उपचार खर्च उपलब्ध गराउदै आएको जनाएको छ । नगरपालिकाको व्यवस्थापनमा विभिन्न राष्ट्रिय खेलहरुको आयोजना सम्पन्न गरेको बताएकोे छ ।

त्यसैगरी न्यायिक समितिमा दर्ता भएको ५४ वटा मुद्धामध्ये २१ वटा मिलापत्र भएको र ३३ वटाको छलफल हुन बाँकी रहेको जनाएको छ । यता गरीबि निवारणतर्फ लघु उद्यम कार्यक्रम मार्फत २१३ जना उद्यमी उत्पादन, प्राविधिक शिप विकास तालिम अन्तर्गत सिलाईकटाई, सौन्दर्य कलासिप, ढाकाबुनाई, बङगुर पालन, ड्राईभिङ , मोटरसाईकल मर्मत गरि विभिन्न तालिमबाट ४०८ जना लाभान्वित भएको बताएको छ । त्यसैगरी अपाङगता भएका १७ जनालाई ह्विल चेयर वितरण, अपाङगता भएका ७० जनालाई परिचयपत्र वितरण, लैंगिक हिंसाबाट पीडित ४ जनालाई स्वास्थ्य उपचारका लागि खर्च उपलब्ध गराएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । यस बाहेक पनि कार्यक्रममा बृतचित्रमार्फत वडा वडामा भएको विकास निमार्णका बारेमा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले प्रयाप्त बजेट नहुँदा सोचे जस्तो कार्य गर्न नसकेको बताउदै स्थानीय तहलाई प्रयाप्त बजेट वियोजन गर्नुपर्ने बताएका छन् । उनले नगरपालिकासंग सबैखाले ज्ञान, सिप , क्षमता भएता पनि प्रयाप्त बजेटको अभावमा कार्य गर्न नपाएको बताउदै नगर प्र्रमुख लामाले नगरपालिकाको समस्याहरुको वारेमा पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहेको पनि बताएका थिए । नगर प्रमुख लामाले देशमा ३०–३५ प्रतिशत मात्र बिकास बजेट खर्च भैरहेको परिप्रेक्षमा नगरपालिकाले विनयोजित विकास बजेटको ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको र बाँकी १० प्रतिशत काम मात्र बाँकी रहेको बताए । कार्यक्रममा नगर उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत चित्र प्रसाद गुरागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत जिल्लाबाट आएका पत्रकारहरुको उपस्थिती रहेको थियो ।