दुवै खुट्टा गुमाएका सुन्दरपुरका हिमाल राना मगरलाई घर हस्तारन्तरण ।

चौदण्डीगढी नगरपालिका वडा न. ५,सुन्दरपुर निवासी हिमाल राना मगर मगरलाई दुईकोठे घर हस्तारन्तरण गरिएको छ । समाजसेवी तथा नेकपा माओवादीकी नेत्री हिरा थापा तिम्सिनाको अगुवाईमा केही महिनाअघिबाट स्थानीयले उपलब्ध गराएको जग्गामा मगरका लागि घर निमार्ण भैरहेको थियो । आर्थिक विपन्नताको कारण दुवै खुट्टा गुमाएका हिमाल राना मगर र उनको अवोध छोरीको दयनीय अवस्था हेरेर नेत्री तिम्सिनाले घर बनाईदिने बताउदै सहयोगका लागि अपिल गरेकी थिईन् । देश विदेशबाट ३ लाख ५ हजार २ सय ७७ रुपैयाँ संकलन भएकोमा २ लाख ९७ हजार ९ सय १० रुपैयाँ खर्च गरी मगरका लागि जस्ताको छत भएको दुईकोठे पक्की घर निमार्ण गरिएको हो ।

आज उदयपुर क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेश सांसद राजन किराती, वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल र पूर्व वडा अध्यक्ष देव नारायण चौधरीले संयुक्तरुपमा मगरलाई घर हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सांसद किराँतीले गास, बास र कपास नागरिकको मौलिक अधिकारभित्र पर्ने जनाउदै यस कार्यमा अगुवाई गरेर घर निमार्ण गर्न सफल भएकोमा नेत्री हिरा थापा तिम्सिनालाई बधाई दिएका थिए । घर प्राप्त गरेपछि मगरले सहयोगी सबैप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका थिए भने जीवन सहज बनाईदिएकोमा खुशी ब्यक्त गरेका थिए ।