चौदण्डीगढी नगरपालिकामा करार कर्मचारी पदपुर्तीको अन्तरवार्ता स्थगीत ।

चौदण्डीगढी नगरपालिकाले करार कर्मचारी पदपुर्तीका लागि गत चैत्र २८ गते प्रकाशन गरेको सुचिकरणमा परेका उम्मेदवारहरुको भोली (सोमवार) हुने तय भएको अन्तरवार्ता अर्को सुचना प्रकाशन नहुनजेलसम्मका लागि स्थगीत भएको सुचना जारी गरेको छ । प्रमुख प्रशासकिय अधिकृत चित्र प्रसाद गुरागाईले आज (आईतवार) एक सुचना जारी गर्दै बिभिन्न पदहरुका लागि गत माघ १७ गते प्रकाशित सुचना अनुसार गत चैत्र २८ गते प्रकाशित विभिन्न पदको सुचिकरणमा परेका उम्मेदवारहरुको भोली हुने अन्तरवार्ता स्थगीत भएको जानकारी दिएका छन् ।

चैत्र २८ गते नगरपालिकाले कम्प्यूटर अपरेटर, ल्याब असिस्टेन्ट, पोषण सहायक, हेल्थ असिस्टेन्ट, अ.न.मी., अ.हे.व. पदको प्रारम्भिक सूची प्रकाशन गरेको थियो । प्रारम्भिक सूची प्रकाशन भएको भोलीपल्ट चैत्र २९ गते नगर प्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राइकोे कर्मचारी भर्नाका लागि आर्थिक लेनदेनको अडियो सामाजिक संजालमा बाहिरिएको थियो । सामाजिक संजालमा आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नगरमा क्रियाशिल दलहरुले कर्मचारी भर्नाको प्रक्रिया रोकी छानवीन गरेर दोषी उपर कडा कारवाहीको माग गरेका थिए ।
एता फेरी सामाजिक संजाल फेसबुकमा नगर प्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राईको ६ मिनेट १ सेकेण्डको अडियो रेकर्ड सार्वजनिक भएको छ । जसमा उनले करारमा नाम निकाल दिने भन्दै शुरुमै एक लाख ५० हजार रुपैयाँ बुझाउनु पर्ने बताउदै आईएमई गरेर पैसा पठाउन सुझाएका छन् भने एक जना हवलदारसंग सम्पर्क गर्न भनेका छन् । यस्तै उनले जागीर ५२–५३ महिनाको लागि सुनिश्चित हुने दावी गर्दै चौदण्डीगढी नगरपालिकाकै स्थानीयसंग १ लाख ५० हजारको दरले लिएको र ३ जनाको पैसा लिएर कन्फर्भ गरेको पनि बताएका छन् । यसअघि फेसबुकमै राईको करिव २ मिनेटको अडियो रेकर्ड गत चैत्र २९ गते सार्वजनिक भएको थियो ।

यसै बिषयमा आज दिउँसो नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कार्यकताहरुले बेल्टार बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गरी नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गरागाईको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनीहरुको भर्ना प्रक्रिया रोकेर दोषीमाथी कारवाही हुनुपर्ने लगायतको माग गरेका थिए । आन्दोलनकारीले लगाएको ताला केही समयपछि प्रहरीले खोलेको थियो ।

एता नगर प्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राईको आर्थिक लेनदेनको माग गरिएको अडियो रेकर्ड सार्वजनिक भएपछि सृजना भएको परिस्थीतिमा ध्यानाकर्णष भएको जनाउदै राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले एक बिज्ञप्ती जारी गर्दै रकम लेनदेनको संवाद गरेको अडियो रेकर्ड सार्वजनिक भएको कुराप्रति नगरपालिकाले गम्भिर ध्यानाकर्षण गर्दै नगर प्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राईलाई लिखित बिज्ञप्ती जारी गरी करार सेवाबाट हटाई निजलाई निगरानीमा राखी छानविन समिति समेत गठन गरी छानविन र अनुसंधान अघि बढी सकेको जनाउदै यस घटनाको बिषयलाई लिएर केही उत्छृखल , अराजक, एवंम् प्रतिगामी प्रकृतीका ब्यक्ति र समुहले समाजमा भ्रम छर्ने र अन्य निर्दोष ब्यक्तिहरु र नगरपालिकाको गरिमा र स्थानीय सरोकारको मर्यादा विपरित प्रचलित कानुनले वर्जित गरेको क्रियाकलापप्रत्रि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक संजालमा जनप्रतिनीधि लगायतको मानमर्दन गर्ने, अश्लिल शब्दहरु पोष्ट गर्ने , नगरपालिकाको दैनिक प्रशासनिक काममा हुलहुज्जत गर्ने , नगरपालिकाको कार्यालय तोडफोड गर्न खोज्ने जस्ता अति उत्छृखल, अराजक, समाजमा द्धन्द्ध सृजना गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता कार्यहरु प्रचलित कानुन अनुसार नरहेको भन्दै यस किमिका क्रियाकलापहरुको संगठनले आबश्यक्ता अनुसार प्रतिरोध गर्न जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । बिज्ञप्ती जारी गर्नेहरुमा युवा फाँट ईन्चार्ज निरज घिसिङ्ग, नगर ईन्चार्ज जिवन राई, नगर अध्यक्ष अनुपराज खत्री, नगर सचिव सुमन खड्का र युथफोर्स जिल्ला उपप्रमुख पंकज राई रहेका छन् ।