घुस प्रकरणमा चौदण्डीगढी नगरपालिकामा क्रियाशिल दलहरुको ध्यानाकर्षण ।

                 चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरपालिकाले नियम विपरित आम नगरबासीहरुकोे बिश्वासमा आँच आउने खालको कुनै पनि क्रियाकलाप नगरेको र त्यस्तो किसिमको अनुचित कार्यहरु हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । हिजो(बुधवार) नगर प्रमुख लामाका स्वकीय सचिव देवप्रकाश राईले नगरपालिकामा कर्मचारी भर्ना प्रकृयामा नियुक्तिकालागि फोन मार्फत रकम लेनदेनको लागि गरेको संवाद सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकार्षण भएको जनाउदै आज(बिहिवार) नगर प्रमुख लामाले एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । उनले राईलाई आजकै मितिबाट लागु हुनेगरी नगरपालिकाको सेवा करारबाट हटाईएको र राईलाई निगरानीमा राखेर आबश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिदै आम नगरबासीको सम्मानमा आच आउने गरी कुनै कुनै पनि कार्य गर्न वा हुन नदिने प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

               एता नगर प्रमुखको स्वकीय सचिव मार्फत आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नगरमा क्रियाशिल राजनीतिक दलहरुले ध्यानाकर्षन भएको भन्दै कडा आलोचना गरेका छन् । नेपाली कांग्रेस नगर समितिले आज एक बिज्ञप्ती जारी गर्दै चौदण्डीगढी नगरपालिकामा जागिरको निम्ति आर्थिक चलखेल भएको कुरा पुष्टी भएको भन्दै भर्खरै नगरमा करार दरबन्दीमा कार्यरत पुराना कर्मचारीहरुको पार्टीगत स्वार्थले मनोवल गिराउने गरी पुनः नियुक्तीको प्रक्रियाप्रति असन्तुष्टी जनाउदै हाल सुचना भएको भर्ना प्रक्रिया यथासिघ्र रोक्न माग गरेको छ । साथै जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार सुशासन र सामाजिक न्यायको बिरुद्धमा गई आफै भ्रष्टाचारमा लिप्त देखिएको कारण नगर प्रमुखलाई नैतिकताका आधारमा सो अडियो प्रकरणको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न र दोषीमाथी कानुन बमोजिम कारवाही हुनुपर्ने जनाएको छ ।

             यस्तै नेकपा माओवादी केन्द्रले पनि आज एक बिज्ञप्ती जारी गर्दै करारमा कार्यरत पुरानो कर्मचारीलाई ज्यालादारीमा स्थानतरण गरी पुनः नियुक्ति प्रक्रियामा जाँदा आर्थिक चलखेलको कारण दक्ष जनशक्त्तिलाई छनौट नगरी अदक्ष कर्मचारी नियुक्त गरिएको अडियो टेप प्रकरणले प्रष्ट पारेको बताएको छ । यस्तै माओवादीले जनता संग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार आफै भ्रष्टाचारमा लिप्त भएको कारण विवादैविवादमा फसेको जनाउदै नगरका जनतालाई नै असहज हुने गरी काम गर्ने नगर प्रमुख र कर्मचारी नियुक्ती प्रकरणको मुख्य जिम्मेवार ब्यक्ति नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टी चौदण्डीगढी नगर समितिले पनि नैतिकरुपले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत जिम्मेवार रहेको हुनाले उनीहरुको राजीनामा माग गरेको छ । भने एता एमाले नगर कमिटीको आज बेल्टारबजारस्थित पार्टी कार्यालयमा  बसेको बैठकले यस प्रकरणमा जोडिएका पार्टी सदस्य देव प्रकाश राईको पार्टी सदस्यता निलम्बन गर्ने निर्ण गरेको नगर सचिव बिकास बनजराले जानकारी दिएका छन् ।

हिजो चौदन्डिगडी नगरपालिकामा कर्मचारी भर्ना प्रकृयामा नियुक्तिकालागि १ जनासङ्ग १ लाख ५० हजार घुस मागेको भनी अडियो सार्वजनिक भएको थियो । नगर प्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राईको रहेको भनिएको सो अडियो रेकर्डमा उनले नियुक्तीपत्र लिनुअघि सबै रकम दिनुपर्ने माग गरेका थिए । अडियो सार्वजनिक भएपछि स्वकीय सचिव राईले हिजो एक बिज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएको अडियो ईडिट गरेर अनुचित संवाद गरिएको र त्यसमा सत्यता नरहेको दावी गरेका थिए । साथै यस्ता पोष्टहरुप्रति सचेत रहन आग्रह गर्दै उनले नैतिकताको आधारमा नगरको कुनै पनि जिम्मेवारीमा अब नरहेको बताएका थिए ।