नगरप्रमुख लामाद्वारा बाटो विस्तार कार्यको शुभारम्भ।

                   चौदण्डीगढी नगरपालिकाको प्रयासमा वडा नम्बर १ को चारघरेबाट रानीटार हुदै पाङ्चा , बालंखा, नागी, चखेवा बाटो विस्तार कार्यको शुभारम्भ गरिएको छ । उदयपुर, भोजपुर र खोटाङ्ग जिल्ला जोड्ने उक्त बाटो बिस्तार कार्यको हिजो चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले वडा नम्बर १ चौदण्डीगढीमा उक्त सडकको शिलान्यास गरेका छन् । सडक डिभिजन कार्यालय लहानको २ करोड ८३ लाखको लागतमा उक्त सडकको निमार्ण गर्ने ठेक्का बिके एसके टिसि जेभीले पाएको छ । चारघरेबाट रानीटारहुदै भोजपुर , खोटाङ्ग जोड्ने उक्त सडकको पहिलो खण्ड अन्तर्गत ९ किलोमिटर लम्बाई र ११ मिटर चौडाईको सडक निमार्णमा २ करोड ८० लाख घनमिटर माटो कटिङ्गगरी बाटो फराकिलो र ट्रयाक निमार्णको कार्य रहेको छ ।

                      शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले उक्त सडकले उदयपुरलाई खोटाङ्ग र भोजपुर जिल्लासंग जोड्न महत्वपुर्ण भुमिका खेल्ने भएकोले यो योजना गौरवको आयोजना रहेको बताउदै नगरलाई पहाडी जिल्लाहरुसंग जोड्दै अन्तर जिल्लालाई बिकास र समृद्धीको यात्रासंग जोड्न सकिने बताएका छन् ।
यसअघि नगर प्रमुख लामा र वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईले संयुक्तरुपमा एक कार्यक्रमको बीच चौदण्डीगढी नगरपालिका १ रानीटार स्थित ताप्राङ्ग खोलाको नवनिर्मित फलामे ट्रस ब्रिजको उद्घाटन गरेका थिए । ताप्राङ्ग खोलामा ट्रस ब्रिज बनेपछी वडा नम्बर १ अबस्थित नगरकै ऐतिहासिक चौदण्डीगढी र रानीटारका स्थानिय बासिन्दा लावन्वित हुने भएका छन । वर्षादको समयमा ताप्रङ्ग खोलामा वाढी आउँदा वारिका किसान पारि जान नसकी खेतिपाती गर्न कठिनाई भईरहेको परिप्रेक्षमा लामो समयको प्रतिक्षा पश्चात ट्रस ब्रिज निर्माण सम्पन्न भएकोमा वडा अध्यक्ष सिताराम राईले खुशी ब्यक्त गरेका छन् । २० मिटर लम्बाइ र डेढ़ मीटर चौडाइ रहेको उक्त पुल नगरपालिकाद्वारा विनियोजित दश लाख रकम बाट निर्माण गरिएको हो भने निमार्ण कार्य शिवशक्ती निर्माण सेवाले गरेको ठेकेदार राजकुमार खड्काले बताएका छन् ।