अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

                                     चौदण्डीगढी नगरपालिकामा अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा नगरपालिकाबाट संचालित कार्यक्रमहरु प्रभावित बनेको छ । अनिवार्य दायित्व अन्तर्गतको निजामति र करार तथा ज्यालादारी सेवातर्फका कर्मचारीहरुले २ महिनादेखीको तलव पाएका छैनन् भने स्वास्थ्य, पशु, शिक्षा लगायत अन्य क्षेत्रका कर्मचारीहरुले लामो समयदेखीको भत्ता नपाएको गुनासो गरेका छन् । तलव भत्तामै समस्या देखिएपछि कर्मचारीहरुमा उत्साह हराएको छ भने गरिसकेको कामको भत्ता पाउने नपाउने टुङ्गो नहुदाँ नैरासयता उत्पन्न भएको एक कर्मचारीले नाम नउल्लेख नगर्ने शर्तमा बताएका छन् ।

                                     नगरपालिकाका लेखा शाखा प्रमुख अमर थापाका अनुसार आन्तरिक राजश्व संकलन नहुँदा २ महिनादेखी निजामति, करार र ज्यालादारीका कर्मचारीले तलव पाएका छैनन् भने स्वास्थ्य , शिक्षातर्फका कार्यक्रमहरु संचालन भएको छैन । त्यस्तै नगरपालिकाको कार्यबिधी बमोजिम दिने आर्थिक सहयोग असोज ५ गते यता बितरण गरिएको छैन भन काज किरिया खर्च वापतको भुक्तानी समेत हुन सकेको छैन । यस्तै बिभिन्न चालु खर्च तर्फका सामाजिक बिकास क्षेत्रका तालिम लगायतको कार्यक्रमहरु पनि कार्यान्वयन नभएको थापाले बताएका छन् । नगरको कार्यबिधी अनुसार औषधी उपचार वापतको १५ लाख ८ हजार रुपैयाँ ९६ जनालाई भुक्तानी गर्न बांकी रहेको छ भने काज किरिया वापतको खर्च ६ लाख २० हजार रुपैयाँ ६२ जनालाई भुक्तानी हुन नसकेको थापाको भनाई छ । महालेखा परिक्षकको कार्यालयले बित्तिय अनुशासन अन्तर्गत विनयोजित शिर्षकको श्रोतगत खर्च प्रणाली अनुसार भएको विनयोजित शिर्षकमा राजश्व भएको अबस्थामा मात्र खर्च गर्न सकिने प्राबधान लागु गरेकाले एक शिर्षकको रकम अर्को शिर्षकमा रकमान्तर गरेर भुक्तानी गर्न नपाईने जनाउदै लेखा प्रमुख थापाले नगरपालिकाले पनि वित्तिय सुशासन कायम गर्न महालेखाको प्रावधान लागु गरिरहेकोले अन्य शिर्षकबाट रकम भुक्तानी गर्न नसकिएको र नगरपालिकाको मुख्य श्रोतको रुपमा रहेको ढुंगागिट्टीको ठेक्का लाग्न नसकेको तथा लागेको स्थानबाट समेत ठेकेदारले उत्खन्न गर्न नपाएकाले सेवाग्राहीलाई भुक्तानी गर्न नसकिएको लेखा प्रमुख थापाले जानकारी दिएका छन् ।

                                   लेखा प्रमुख थापाका अनुसार नगरपालिकाले यस आर्थिक बर्ष २०७९/८० मा ढुंगागिट्टी लगायतको प्राकृतिक श्रोतबाट ५ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा २० प्रतिशत रकम पनि ८ महिनामा उठाउन सकेको छैन । ढुंगागिट्टीबाट ९५ लाख मात्र राजश्व संकलन भएको छ । यस्तै आन्तरिक श्रोतबाट २ करोड ३२ लाख रुपैयाँ उठाउने अनुमान गरेकोमा १ करोड ३ लाख र मालपोतबाट १ करोड ८१ लाख रुपैयाँ अनुमान गरेकोमा ५४ लाख १२ हजार मात्र राजश्व उठेको छ । त्यस्तै नगरपालिकाले गत आर्थिक बर्षको ढुंगागिट्टीको ठेकेदार कम्पनी ईन्देणी सगरमाथा जेभीबाट उठाउनुपर्ने २ करोड २५ लाख रकम अदालतमा मुद्धा परेकोले उठाउन सकेको छैन । नगरपालिकाले उठाएको राजश्व रकम मध्ये २ करोड २१ लाख रुपैयाँ खर्च भैसकेको लेखा प्रमुख थापाले बताएका छन् । लेखा प्रमुख थापाले यसबिचमा शिक्षक ,सका, लेखापाल र बिद्यालय सहयोगीलाई नगरपालकाबाट थप हुने ७ हजार ५ सय रकम ६ महिनाको भुक्तानी गरिएको, स्वास्थ्य तथा आँखा शिविर संचालनमा भएको खर्च , वडा नम्बर ४ मा निमार्णधिन स्वास्थ्य भवन तथा खेलकुद प्रतियोगिता लगायतको भुक्तानी गरिएको बताएका छन् । लेखा प्रमुख थापाले नगरपालिकाबाट संचालन हुने बिभिन्न कार्यक्रमको भुक्तानीमा समस्या भएता पनि वडाका कार्यक्रमहरु संचालन भईरहेको तथा पुर्वाधार बिकासतर्फको भुक्तानीमा भने समस्या नरहेको बताएका छन् ।