चौदण्डीगढी नगरपालिकाले बिकास निमार्णका कार्यमा पहल गर्न योजना माग पहल समिति गठन गरेको छ । नगर प्रमुख कालुमान लामाको बिशेष पहलमा आज नगरपालिकामा भएको सर्वदलीय सर्वपक्षीय बैठकले नगरपालिकाको बिकास निमार्णका कार्यहरुको प्राथमिकरण गरेर संघीय र प्रदेश सरकारसंग योजना माग गर्न योजना माग पहल समिति गठन गरेको हो । समितिमा नगर प्रमुख लामा, प्रदेश सभा सदस्य माननीय राजन किराँती, पुर्व प्रदेश सांसद बिमल कार्की, पुर्व नगर प्रमुख खगेन्द्र राई, नगर बिकास बोर्डका संयोजक पदम राई, नगर प्रवक्ता प्रकाश राउत र स्थानीय राजनीतिज्ञ तथा समाजसेवी गोपाल रोका रहेका छन् ।
आजको बैठकमा नगर प्रमुख लामाले नगरको १० बटै वडाहरुबाट माग गरिएको योजनाहरु, नगरले पहल गरिरहेको बिकास निमार्णका कार्यहरुबारे जानकारी दिनुका साथै अब नगरलाई कस्तोरुपमा बिकास गर्न खोजेको सोको खाका तयार पार्नलाई योजनाहरुको प्राथमिकरण गरी सोको लागि पहल गर्न योजना माग पहल समिति गठन गर्नुपर्ने बताएका थिए । यस्तै पुर्व प्रदेश सांसद बिमल कार्कीले नगरले आद्यविक योजना निमार्ण गरेर मात्र बिकास निमार्णका योजनाहरु बनाउनु पर्ने धारणा राखेका थिए । उनले २५ बर्षे दिर्घकालिन, १० देखी १५ बर्षे मध्यकालिन, ५ बर्षे कार्यकालीन र बार्षिक कार्य योजना बनाएर बिकास निमार्णको कार्य गर्दा दिगोहुने बताउदै नगरले मास्टर प्लान बनाएर काम गर्नूपर्ने बताएका थिए । त्यस्तै नगर बिकास वोर्डका संयोजक पदम राईले समग्र सडक , कृषी, पर्यटन र शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्यहरुको नगरले अध्ययन गरिरहेको र सोको गुरुयोजना बनाएर काम गर्न लागेको बताएका थिए । यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राईले सबैको अस्तित्वलाई स्वीकार गरेर सहकार्य गर्नु पर्ने बताउदै बिकास निमार्णमा यो पार्टी त्यो पार्टी नभनी साझारुपमा कार्य गर्नुपर्ने बताएका थिए । त्यस्तै स्थानीय समाजसेवी एवंम् एमाले उदयपुर क्षेत्र नम्बर १ क प्रदेश सचिव किशोर ताम्राकारले नगरपालिकाले अन्तरपालिका र अन्तरजिल्ला जोड्ने सडकहरुलाई प्राथमिकता दिएर कार्यगर्नु पर्ने सुझाव दिएका थिए । त्यस्तै नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, जसपाका नगर अध्यक्ष भुपेन्द्र राई, एमाले नगर अध्यक्ष श्याम राई, राप्रकाका क्षेत्रिय अध्यक्ष गोपाल रोका लगायतका नेताहरुले स्थानीय बिकास निमार्णमा जोड दिनुपर्ने बताएका थिए ।
